सुदूरपश्चिम महोत्सवमा सिन्डिकेडको विरोध 



कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रत्येक वर्ष कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव संघको चुनावका कारण यो वर्ष नहुने भएको छ । महोत्सव नहुने संकेत देखिएपछि विश्वज्योति यूवाक्लब र शक्ति यूवाक्लब धनगढीको आयोजनामा ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ तयारी अन्तिम चरणमा पुगेको छ । 

 

‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराकासाथ यहि पौष २० गतेदेखि माघ २ गतेसम्म प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना हुने भएको छ ।

 

यता कैलाली उद्योग वाणिज्य संघले आफूले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव हुनुभन्दा अगाडी धनगढीमा कुनै महोत्सव गर्न नपाईने भन्दै बारम्बार विज्ञप्तीसहित खबरदारी गर्दै आएको छ । 

 

उक्त विज्ञप्तीलाई वेवास्ता गर्दै ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को तयारी झण्डै ७५ प्रतिशत पुरा भएको आयोजकले जानकारी दिएको छ । धनगढी फन सिटीको प्रमोसन र स्थानीयलाई मनोरञ्जन दिनको लागि महोत्सव आयोजना गरिएको संयोजक श्याम बिष्टले जानकारी दिए । 

बिष्टले क्लबको झण्डै ७० लाख निजी लगानीमा महोत्सव गर्न लागेको भन्दै यसलाई कसैले रोक्न र अवरोध गर्न नसक्ने दाबी गरे । 

 

महोत्सवले स्थानीय कला सँस्कृति, कृषि, पर्यटनलगाएत व्यापारमा टेवा पुग्ने भन्दै कसैले महोत्सवमा सिन्डीकेट लगाउन नपाउने आयोजक कमिटी सदस्य सुरज गिरीले बताए । 

 

धनगढीस्थित पुरानो भन्सार रोडमा रहेको फन सिटी अगाडीको खुल्ला चौरमा महोत्सवको तयारी गरिएको छ । स्थानीय तिल्के तालमा डुङ्गाको पनि व्यवस्था पनि गरिएको छ भने स्थानीय खानाको परिकारहरुको प्रर्दशनीसमेत रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्