उपनिर्वाचन : ३९ स्थानको मत परिणाम सार्वजनिक, यस्तो छ पछिल्लो अवस्था



वडाध्यक्षमा नेकपाको वर्चस्व

काठमाडौं : विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।

मार्तडी : बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी भएका छन् । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित भएका थिए । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो ।

दाङ : घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन् । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित भएका छन् ।

चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो ।

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएकी छन् । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी भएकी हुन् । उनले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला उम्मेदवार प्रमिलादेवी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

मेलम्ची : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अशोक तामाङलाई पराजित भएका हुन् । आचार्य ७१२ मत ल्याएर विजयी भएका हुन् । तामाङले भने ४३९ मत प्राप्त गरेका छन् । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी भएका हुन् । राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

यस्तै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

अर्घाखाँची : मालारानी गाउँपालिका–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गरेका थिए ।

रौतहट : गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठ १७५ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गरेका थिए ।

बनेपा : वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका थिए ।

गुल्मी : रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गरेका हुन् । सिञ्जालीले ८०२ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

कावासोती : नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले कुल ३६७ मत प्राप्त गरका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गरेका हुन् ।

लहान : सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए । नेपाली कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

भोजपुर : पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली कांग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बनेका हुन् । राईले ६९१ मत प्राप्त गर्नुभयो भने उनका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गरेका छन् ।

बैतडी : यहाँका तीन वडामध्ये दुई वडामा नेपाली कांगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी हात पारेको छ । गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चांैडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

अन्तिम मत परिणाममा दोगडाकेदार–४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गरेका हुन् । एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गरेका थिए ।

यस्तै पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी भएका छन् । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका थिए ।

सुर्नया–१ मा कांग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका थिए ।

सङ्खुवासभा : खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी भएका छन् । उनले ७९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गरेका थिए ।

यसैगरी मकालु गाउँपालिको अध्यक्षका लागि भएको उपनिर्वाचनमा मकालु गाउँपालिकाका १० वटै स्थानमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका नुम बजारमा आइपुगेको र अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेकाले केही बेरपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्