आज सीताराम विवाह महोत्सव मनाइँदै



जनकपुरधाम : त्रेता युगमा मिथिलाको राजधानी जनकपुरमा भएको राम–जानकी विवाहको स्मृतिमा जनकपुरधाममा आज (आइतबार) भगवान सीता–राम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ ।

सांस्कृतिक परम्पराको रुपमा रहँदै आएको सीता–रामको विवाह यस वर्ष पनि मिथिलावासीले भव्य रुपमा मनाइरहेका छन् । विधिवत रुपमा हरेक दिनका शुभकर्महरु गर्दै आज पञ्चमीका दिन प्रतिकात्मक रुपमा सीतारामको विवाह महोत्सव हुन लागेको हो ।

कथाअनुसार त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रीत रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ । सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । महोत्सवमा यसपटक अयोध्याबाट नै प्रतिकात्मक भगवान रामको जन्ती आएकाले जनकपुरधाममा मानव सागर ओर्लेको छ । भगवान रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङ्कित छ ।

अलौकिक रूपमा रामलाई निर्गुण ब्रह्म एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रह्ममयी र योगमायाको सङ्ज्ञा दिइएको छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।

एउटा आश्चर्यको कुरा के छ भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा रामको ‘र’ अथवा सीताको ‘स’ पाइन्छ । ‘र’ एवम् ‘स’ मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ । मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।

मैथिली संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकीमन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । अयोध्याबाट जन्तीका रूपमा आएका प्रतिकात्मक दशरथका भूमिकामा रहेका कन्हैया दास वर्तमान समयमा पनि सीतारामको विवाहको आयोजनाले हिन्दू संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको बताउँछन् । । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुुकरणीय रहेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्