फारवेस्ट पशुपति कप : आयोजकलाई हराउँदै पिएफए अत्तरियाले चुम्यो उपाधि



कैलाली : पिएफए अत्तरियाले चौथो संस्करणको फारवेस्ट पशुपति कपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा आयोजक फारवेस्ट पशुपति युवा क्लबलाई टाइब्रेकरमा हराउँदै पिएएफ च्याम्पियन बनेको हो ।

तेस्रो संस्करणमा आयोजक फारवेस्ट पशुपतिसँगै फाइनलमा पराजित भएको बदला लिँदै पिएफए अत्तरिया चौथो संस्करणको विजेता बन्यो । अत्तरियाले फारवेस्ट पशुपतिलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै नगद चार लाखसहित ट्रफी हात पारेको छ ।

उपविजेता बनेको फारवेस्ट पशुपतिले नगद दुई लाखमा चित्त बुझाएको छ । निर्धारित समयसम्म कुनै पनि टिमले गोल नगरेपछि टाइब्रेकरबाट विजेता र उपविजेता टुंग्याएको हो । फारवेस्ट पशुपतिका लागि महेश चन्द जोशीको प्रहार बाहिरिएका कारण आयोजक विजेता बन्नबाट चुकेको हो । 

फारवेस्टका लागि भीष्म भाट, कृष्ण कठायत र दिपेन्द्र बुढाले गोल गर्दा पाँचौं प्रहार भने कुनै पनि खेलाडीले गरेनन् । पिएफएलाई उपाधि जिताउने क्रममा मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, बादल पाख्रिन र आशीष क्षेत्रीले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे ।

पुस ८ गतेदेखि सुरु भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी फारवेस्ट पशुपतिका भीष्म भाट भए । उनले नगद १५ हजार हात पारे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक फारवेस्टका प्रीतम खड्का, उत्कृष्ट रक्षक फारवेस्टकै कृष्ण कठायत, उदयमान खेलाडी पिएफए अत्तरियाका अशोक चौधरी र सर्वाधिक गोलकर्ता पिएफए अत्तरियाकै आशीष श्रेष्ठ भए ।

सबै विधाका उत्कृष्ट खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिएको छ । क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीलाई सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले सिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको चौथो संस्करणमा देशका विभिन्न स्थानका १६ टिमले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्