२६ वर्षपछि पर्सामा शिक्षक चुनाव, मतगणना सुरु



वीरगन्ज : शिक्षकहरूको छाता संगठन शिक्षक महासंघ पर्साको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनक्रममा वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शनिबार साँझ ५ बजेसम्म मतदान भएको हो ।

 वीरगन्ज महानगरपालिकामा कुल ९ सय मतदाता रहेका कारण बेलुका ५ बजेसम्म मतदान भएको थियो । महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकाको निर्वाचन मतपेटिकामा शिलबन्दी गरेर राखिएको प्रमुख निर्वाचन अधिकृत सन्तोषकुमार श्रीवास्तवले बताए । 

पर्सामा २ हजार ५ सय ५४ जना शिक्षक मतदाता रहेकामा २ हजार २ सय ७५ जनाले मतदान गरेका छन् । कुल मतदाताको ८८.१० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

२६ वर्षपछि पर्सामा शिक्षक नेतृत्वका लागि निर्वाचन भएको हो ।

 

निर्वाचनमा नेपाल शिक्षक संघ, लोकतान्त्रिक शिक्षक युनियन, मधेसी शिक्षक फोरम नेपाल लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन, संघीय शिक्षक फोरम नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद्, नेपाल शिक्षक मञ्च, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन गरी ९ वटा संस्था भाग लिएका छन् । ३ वर्षे कार्यकालका लागि जारी मतदानमा झन्डै २ हजार ५ सयभन्दा बढी मतदाता छन् । 

मतगणनामा सबैभन्दा बढी मत पाउनेले अध्यक्षसहित ६ वटा सदस्य पाउने नेपाल शिक्षक महासंघको विधान २०७४ ले निर्दिष्ट गरेको छ भने दोस्रो स्थान ल्याउने संस्थाले सचिवसहित ४ सदस्य, तेस्रो हुने शिक्षक संस्थाले सहअध्यक्षसहित सदस्य पाउने व्यवस्था छ । शनिबार राति ७ बजेपछि श्रीपुर स्कुलमै मतगणना सुरु हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए । 

नेपाल सरकारबाट विद्यालयमा कार्यरत परिचर र कर्मचारीबाहेक अनुदान पाई शिक्षणसिकाइ गराइरहेकालाई शिक्षक भनी तोकिएको छ । राजनीतिक दलहरूले शिक्षक चुनावलाई आआफनो दलगत अस्तित्वसँग जोडेर आफूनिकट संगठनको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्