कञ्चनपुर पुनर्वासमा भारतद्वारा फेरि सीमा अतिक्रमण



कैलाली : कञ्चनपुरको पुनर्वासमा भारतीय पक्षले फेरि नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको ३२ बिघा नेपाली भूमि र प्यारा ताल अतिक्रमण गरेको छ । नेपालीले वर्षौंदेखि सो भूमि भोगचलन गर्दै आएका छन् ।

 

भारतीय सुरक्षाकर्मीले लगाएको रोकका कारण स्थानीयले आफ्नो जमीनमा बाली लगाउन पाएका छैनन् भने सरकारले जंगली जनावरबाट बाली जोगाउन बिच्छयाएको विद्युतीय धरापसमेत विस्तार गर्न पाएको छैन ।

 

नेपाली कांग्रेस पुनर्वास नगरपालिका वडा नम्बर ९ का सभापति जयबहादुर सुनारले भारतीय प्रहरीले स्थानीयलाई १९४ देखि १९७ नम्बर पिलरबीचको जमिन आफ्नो भन्दै स्थानीयलाई भोगचलन गर्न नदिएको बताए । नेता सुनारले १९५ र १९६ नम्बर पिलरलाई भारतीय प्रहरीले नेपालतिर सार्न खोजेको बताए ।

 

उनले १९५ नम्बरको पिलर खोलापारि र १९६ नम्बरको पिलर जंगलमा रहे पनि भारतीय सुरक्षाकर्मीले नेपालीले भोगचलन गर्दै आएको जमीन भारतको रहेको दाबी गर्दै आएको बताए । उनले बाली जोगाउनका लागि आफूहरूले १९४ नम्बर पिलरसम्ममात्रै विद्युतीय धराप बिच्छयाउन पाएको बताए ।

 

सो विद्युतीय धराप बिच्छयाइरहेका बेला भारतीय सीमा सुरक्षा बलले १९४ नम्बर पिलरभन्दा अगाडि गाडेको पोल उखेलेर फान्नुका साथै भत्काएको बताइएको छ । भारतीय प्रहरीले हस्तक्षेप गरेपछि किसानहरूले बाली लगाउन नपाउँदा सीमानजिकको जमिन जोतेर खाली छोडिएको छ ।

 

पुनर्वास नगरपालिका वडा नम्बर ९ का हरि शर्मा जैशीले २०४५ र ०४६ सम्म प्याराताल नेपालको एकलौटी भए पनि त्यसपछि भारतीयले हस्तक्षेप गरेर आधा ताल अतिक्रमण गरेको बताए । उनले अहिले आएर भारतीय सीमा सुरक्षा बलले पूरै प्यारा ताल आफ्नो भनी दाबी गरिरहेको बताए । उनले भारतीय प्रहरीले नेपालीलाई माछा मार्नसमेत नदिने गरेको बताए ।

 

सरकारले सीमाबारे कुनै चासो नलिएको स्थानीयको गुनासो छ । सरकारले कुनै चासो नदिए पछि आफूहरूले सिमानाका बारेमा बारम्बार भारतीय प्रहरीसँग लड्ने गरेको स्थानीयले बताए ।

पुनर्वास–९ का दलबहादुरले नेपाली सीमा सुरक्षा बल सिमानानजिक नबसी सहरनजिक बस्ने गर्नाले बारम्बार सीमा समस्या बल्झिने गरेको बताए । उनले सीमाको विषयलाई लिएर भारतीय प्रहरीले आफूहरूलाई निरन्तर दुःख दिइरहेको गुनासो गरे ।

 

केही महिनाअघि भारतीय प्रहरीले नेपाललाई जानकारी नै नदिएर दसगजा क्षेत्रमा नाली खनेको थियो ।स्थानीयले विरोध जनाएपछि भारतीय पक्षले नाली खन्ने काम बन्द गरेको थियो । त्यसैगरी २०७३ फागुनमा पुनर्वास वडा नम्बर ४, आनन्द बजारमा भारतीयले सीमा मिचेको विरोध गरिरहेका स्थानीयमध्ये गोविन्द गौतमलाई भारतीय प्रहरीले गोली हानी हत्या गरेको थियो ।

 

भारतीय सीमा सुरक्षा बलले सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न गएका नेपालीलाई पनि दुःख दिने गरेको छ । पुनर्वासका बासिन्दा चिनी, नुन, तेल, कपडालगायतका सामान किन्न नजिकैको भारतीय बजारमा जाने गरेका छन् । सामान किन्न जानेलाई भारतीय प्रहरीले पैसा माग्ने, पिट्ने, मोटरसाइकलको लाइसेन्स लिई दिने गरेको पुनर्वास–९ दलबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्