सल्यानकाे कुमाख र दार्मामा पहिलोपटक बिजुली



सल्यान : एक वर्षअघि गाउँमा पनि बिजुली ल्याउने चर्चा चल्दा कसैलाई पत्यार लागेको थिएन । यस्तो गाउँमा बस्ती आउनु भनेको बकुल्लाले चट्याङ परेका बेला आकाश थाम्छु भनेजस्तै हो भनी बिजुलीको कुरा गर्ने मान्छेलाई उडाइदिन्थे । तर, आज सोही गाउँमा बिजुली बल्छ भन्ने विश्वास नगर्नेकै अघि बिजुली बलेको छ । विश्वास नगर्नेहरू पनि आज आफ्नै गाउँमा बिजुली बलेको देख्दा दंग परेका छन् । 

 कुमाख गाउँपालिका–३ रागेचौरमा पहिलोपटक शनिबार बिजुली बल्ने गाउँभरि हल्ला चल्यो । गाउँमा बिजुली बाल्न पाइएला भन्ने एकरत्ति पनि विश्वास नलागेकाहरू पनि उद्घाटन कार्यक्रममा सहभागी भए ।

 गाउँपालिका अध्यक्ष दिलमाया बुढाले ’स्विच अन’ गरिन्, बत्ती बल्यो । उद्घाटन कार्यक्रममा सहभागी स्थानीय ८२ वर्षीया दिलु रानाले ताली पिट्दै भनिन्, ‘लौ जा हाम्रो गाउँमा पनि बत्ती बल्यो ।’ 

गाउँमा पहिलोपटक झलमल बत्ती बलेको देख्दा उनको खुुसीको सीमा नै थिएन । आफ्नो उमेर गाउँमै बिजुली बत्ती बाल्ने कल्पना नगरेका उनले उफ्रिँदै भनिन्, ‘गर्ने आँट भए जे पनि हुँदोरहेछ ।’  

गाउँमा पहिलोपटक बिजुली बलेको भन्दै स्थानीयले नाचगान गरी खुसियाली मनाएका छन ्। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलमाया बुढाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्