मेयरको सनक : रिहाइको खुसी मनाउन दिए सार्वजनिक बिदा



कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकोप्टर चार्टर गरी गृहनगर पुगेका कटरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले आफू दोषमुक्त भई रिहा भएको खुसियाली मनाउन एक दिनको सार्वजनिक बिदा दिएका छन् । 

 

कटरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले हस्ताक्षर गरेको सूचनामा प्रमुखस्तरीय निर्णयबाट आइतबारका लागि नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयसँगै नगरपालिका क्षेत्रभित्रका विद्यालयमा लागू हुनेगरी बिदा दिइएको जनाइएको छ । 

सूचनामा कुशवाहालाई नगरका ‘सच्चा जनअभिभावक’ भनिएको छ । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट हिन्दु युवा संघका संस्थापक काशीनाथ तिवारी हत्यामा दोषी ठहर भई गत वैशाखमा पक्राउ परेका कुशवाहाले सर्वोच्चबाट शुक्रबार सफाइ पाएका थिए । 

उच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय दिएको थियो । सर्वोच्चको सफाइपछि शुक्रबार नै कारागारबाट रिहा भएका उनी शनिबार हेलिकोप्टरबाट आफ्नो गृहनगर पुगेका हुन् । 

कुशवाहा नेकपा नेता प्रभु साहनिकटका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्