नेकपामा दाहाल हावी, ओली रक्षात्मक



काठमाडौं : नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए।

पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्काे खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो।

दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे। त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन्। बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए। अबको पार्टी नेता आफू भएको सन्देश दिए।

एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए। आगामी दिनमा पनि पार्टीभित्रको समीकरणमा आफूअनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको बुझाइ छ।

दाहालले व्यक्तिगत रुपमा नचाहे पनि नेता वामदेव गौतमले उनलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउन लिखित प्रस्ताव नै गरे। प्रधानमन्त्री भएका अध्यक्ष बाहेकका अर्का अध्यक्षले पार्टीको कार्यकारी जिम्मा लिने प्रस्ताव गौतमको थियो। तर दाहालले त्यस्तो प्रस्ताव समय सान्दर्भिक नभएको बताए। नेता गौतमले अध्यक्षद्वय ओली र दाहालले बैठकमा साझा राजनीतिक दस्तावेज प्रस्तुत गरेकै दिन पार्टीमा फरक मत राखेका थिए।

२९ मंसिरको बैठकमा प्रधानमन्त्री ओली गौतमको दस्तावेज बैठकमा प्रस्तुत हुन दिने पक्षमै थिएनन्। दाहालले नै गौतमलाई आफ्नो लिखित मत बैठकमा राख्न दिने गरी बाटो खोलिदिए। ५ महिनापछि बसेको बैठकमा घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेताले सुरुमै एजेन्डा माग गरे।

अध्यक्ष ओली राजनीतिक दस्तावेजमा समेटिएका विषयबाहेक अन्य एजेन्डा बैठकमा छलफल गर्न दिने पक्षमा थिएनन्। तर दाहालले अन्य एजेन्डामा पनि नेतालाई छलफलको बाटो खोलिदिएको नेता घनश्याम भुसालको भनाइ छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्