कर्मचारी समायाेजनका लागि एक लाख ३५ हजार विवरण सार्वजनिक



काठमाडौं : नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ । यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा करिब ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार ७५० कुल दरबन्दीको विवरण मन्त्रालयको वेभसाइटमार्फत् सार्वजनिक गरिएको छ ।  

सङ्घमा मुख्य सचिव एक, सचिव ५५, सहसचिव प्रशासन २५७ कायम भएको छ भने अन्य कानुन, सरकारी वकिल, इन्जिनियरको पनि दरबन्दी यकिन भएको छ । यसैगरी, उपसचिव, शाखा अधिकृतलगायत सबै पद र तहको दरबन्दी सार्वजनिक भएको छ । 

सातवटै प्रदेशमा रहने कर्मचारीको दरबन्दीको विवरणसमेत राखिएको छ । 

यसैगरी, स्थानीय तहमा पशु र कृषि संरचनामा सबैभन्दा बढी सात हजार ७२४ र स्वास्थ्यतर्फ कुल दरबन्दी २५ हजार ७६४ दरबन्दी रहेको छ । सचिव थपलियाले समायोजनमा जान चाहने कर्मचारीले आफूलाई कहाँ जाने हो भनेर रोज्नलाई बाटो खुलेको बताए । 

यो विवरणअनुसार कर्मचारीको समायोजन भइसकेपछि बाँकी रहेको दरबन्दीमा लोक सेवा आयोगमार्फत खुला विज्ञापन गरिनेछ । समायोजनमा बाँकी रहेका दरबन्दी संघ, प्रदेश र स्थानीय तह जहाँ बाँकी रहन्छ, त्यहीँका लागि खुला विज्ञापन हुने व्यवस्था छ । 

प्रदेश लोक सेवा आयोगको गठनपछि प्रदेशहरूबाटै खुला विज्ञापन हुने छ । दरबन्दी रिक्त हुने वित्तिकै लोकसेवा आयोगमार्फत सम्बन्धित प्रदेशबाटै पदपूर्तिको प्रक्रिया अगाडि बढ्ने भएकाले भविष्यमा भने कर्मचारीको समस्या नहुने विश्वास मन्त्रालयको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्