प्रदेश २ सरकारले छोरी जन्मने बित्तिकै १ लाखको बिमा गरिदिने



रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले एक लाखको जीवन बीमा गर्ने घोषणा गरेका छन् ।

रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमत्री राउतले यस्तो घोषणा गरेका हुन् । प्रदेश २ का ८ वटै जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीलाई एक लाखको बीमा गर्ने कार्यक्रम राउतले घोषणा गरेका हुन् ।

रौतहट जिल्लालाई प्रदेशको तेश्रो तथा नेपालको ६३ औं ओडिएफ जिल्ला घोषणा गर्दै मुख्य मन्त्री राउतले प्रहरी ऐन झै चाँडै निजामती कर्मचारी ऐन, लोकसेवा ऐन, महिला सशक्तिकरण ऐन चाँडै तयार गरेर प्रादेशिक सदनबाट पारित गराई कानुनको रुप रेखा तयार पार्ने कार्य युद्धस्तरमा भइरहेको बताए ।

प्रदेशमा मुस्लिमको संख्या १२ प्रतिशत रहेको बताउँदै उनले मुस्लिम समुदायकालागि मदर्शा बोर्डको गठन गरी मुस्लिम समुदायलाई आत्मनिर्भर एवं अधिकार सम्पन्न बनाउने तर्फ प्रदेश सरकार अघि बढेको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्