कहिले आउँछ रेल ?



जनकपुरधाम :  रेल चढेर विवाह पञ्चमी मेला जान पाउने भएपछि सूर्यकलादेवी गत वर्ष निकै खुसी भइन्। तर, जयनगर–जनकपुर रेल चल्ने अनिश्चित हुँदा धनुषा जनकनन्दनी–४ खजुरीकी कामत रेल चढेर जनकपुर आउन पाइनन्। उनको आशा निराशामा परिणत भयो।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्ष मंसिर पहिलो साता लिक परीक्षण भएको थियो। रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चाले यस भेगमा उत्साह छाएको थियो।

‘एहि सँ पहिनही साल वियाह पञ्चमी मेलामो जयनगर सऽ कुर्थातकऽ रेल चलतै से सुनने रहीयैय, फेर सुनैछिय जे अुहँबेर नै चलत, अहुँ बेर रेल चढके सपना पूरा नै भेल’ (गत मंसिरमै विवाह पञ्चमी मेलामा जयनगरबाट जनकपुरधामबाट रेल चल्ने हल्ला थियो। यस वर्ष पनि चलेन। रेल चढेर मेला हेर्न जान नपाइने भो !)

कामतीजस्तै जनकनन्दनी, औरही गाउँपालिकालगायत क्षेत्रका स्थानीय रेल चढ्ने सपना अधुरै रहेको बताउँछन्। जनकनन्दनी गाउँपालिकाकै ८० वर्षीय जोगनी दासले भने, ‘उमर सेहो आबनइ रहीगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदाआब इ ललसा पूरा होयवाकआस मैरगेल’ (उमेरले अब साथ दिन छोड्यो। सोचेको थिएँ– एकचोटि रेल चढेर रामजानकी विवाह पञ्चमी हेरौं, माता जानकीको दर्शन गरौं। अब यो रहर पूरा हुने छाँट देखिएन)।

गत वर्ष विवाह पञ्चमी मेलाको तयारी भइरहँदा जयनगर–जनकपुरधाम–कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएको थियो। रेल चलेपछि आवतजावत गर्न र सामान सजिलै बजारमा पुर्‍याउन पाइने आस थियो सर्वसाधारणमा।

‘जनकपुरधाम नपुगेको पाँच वर्ष भयो। रेल चल्दा आउनजान सजिलो हुन्थ्यो। कहिले आउँछ होला त्यो दिन, फेरि रेल चलेको हेर्न इच्छा छ। मर्नुअघि एकपटक रेल चलेको हेर्न चाहन्छु’, जनकनन्दनी गाउँपालिकाका ८० वर्षीय मो. हामिद साफीले भने, ‘रेल चल्ने कुरा बच्चाबच्चीको खेलजस्तै भयो।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द महतोले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्