कर्णालीका ८० प्रतिशत स्थानीय तहमा बैंक



सुर्खेत : कर्णालीका ८० प्रतिशत स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । नगरपालिका र गाउँपालिका गरी कर्णालीमा ७९ वटा स्थानीय तह छन् । 

यसमध्ये ६२ वटा स्थानीय तहमा बैंकिङ सेवा पुगेको राष्ट्रबैंकले जानकारी दिएको छ । भौतिक पूर्वाधार र सुरक्षा प्रबन्ध नभएकै कारण बाँकी २० प्रतिशत स्थानीय तहमा बैंक विस्तार गर्न नसकिएको हो ।

राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले भने, ‘स्थानीय सरकारलाई काममा सहज होस् भन्ने उद्देश्यले हामीले बैंकलाई छिटो स्थापना गर्न निर्देशन दिएका छौं, केही तहमा न्यूनतम पूर्वाधारसमेत तयार नहुँदा रोकिएको हो ।’ पाँच महिनाको अवधिमा मात्रै ४६ वटा बैंकले शाखा विस्तार गरेको जानकारी दिए ।

‘असारसम्म १६ वटा तहमा मात्रै बैंक रहेको कर्णालीमा पाँच महिनाकै अवधिमा ८० प्रतिशत पुग्नु सानो कुरा होइन’, उनले थपे, ‘अब १७ वटा तहमा मात्रै बैंक स्थापना हुन बाँकी छ, त्यो पनि ६ महिनाभित्रै सक्ने गरी काम गर्न हामीले बैंकर्सलाई निर्देशन दिइसकेका छौं ।’

उनले स्थानीय तह र नागरिकलाई बैंक नभएकै कारण कुनै पनि असुविधा नमिम्तियोस् भन्ने उद्देश्यले बैंक स्थापनाको रफ्तार बढाइएको बताए । संघीय संरचनामा कर्णाली प्रदेशको आर्थिक गतिविधिबारे विश्लेषण गर्दै निर्देशक न्यौपानेले दुर्गम क्षेत्र भए पनि कर्णालीका तहमा यति छिटो बैंक स्थापना हुनुले आर्थिक गतिविधिमा नागरिकलाई राहत प्रदान गरेको बताए।

‘बैंक स्थापना हुन बलियो भौतिक पूर्वाधार, सदावहार प्रभावकारी इन्टरनेट, पर्याप्त बिजुली र बैंकको सुरक्षा अति नै आवश्यक हुने भएका कारण पनि बाँकी १७ ठाउँमा यी सबै पूर्वाधार तयार भएमा यही आर्थिक वर्षमा नै सबै तहले बैंकिङ कारोबार आफ्नै ठाउँबाट गर्न पाउनेछन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्