यस्ता छन् भक्तपुरमा नेकपाको अनपेक्षित हारका कारणहरु



काठमाडौं : भक्तपुरको प्रदेशसभा सदस्यको उपचुनावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । आफ्नो पकड रहँदै गर्दा पनि सत्तारुढ नेकपाका उम्मेदवार डीपी ढकालको पराजय हुन गएको छ ।

नेकपाले यसलाई अनपेक्षित परिणामको रूपमा लिएको देखिएको छ । यसअघि उक्त निर्वाचन क्षेत्रबाट तात्कालीन एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछानेको निधनपछि त्यहाँ उपचुनाव भएको हो ।

किन हार्यो त नेकपाले ? यसका पछाडी धेरै कुराहरु रहेका छन् । तीमध्ये मुख्य कारण उम्मेदवार नै रहेको देखिएको छ । अघिल्लो चुनावमा लामिछाने वा ढकाल कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निकै ठूलो विवाद भएको थियो । विवाद साम्य गरी लामिछानेलाई उम्मेदवार बनाएपछि उनैले निर्वाचनमा विजय हासिल गरेका थिए । तर ढकालले विद्रोही उम्मेदवारी दिएका थिए र उनलाई पछि फिर्ता लिन लगाइएको थियो ।

विवाद भुसको आगो झैं भित्रभित्र सल्किदै गयो । तत्कालीन माओवादी नेताहरूले ढकाल नै आधिकारिक उमेदवार रहेको तर विवाद बढ्न नदिन र जित सुनिश्चित गर्न मात्र आफूहरुले लामिछानेलाई समर्थन गरेको बताउँदै हिँडे । यो तात्कालीन एमाले पक्षधरहरुलाई राम्रो नलाग्नु स्वभाविक थियो । एमाले पक्षधरहरुले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

हरिशरण लामिछानेको मृत्युपछि अब हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा भित्रभित्रै पूर्व समूहमा पनि र सिंगो पार्टीमा छलफल चलिरहेको थियो । पोखरामा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई, दाङमा उत्तरकुमार वली पत्नी विमला वली उम्मेदवार बनाइँदा भक्तपुरमा पनि पनि हरिशरण लामिछाने पत्नीले आशा गर्नु अस्वाभाविक थिएन । तर यो मनोभावनाको भक्तपुरमा भने कदर गरिएन । पूर्व पार्टीहरुको मानसिकताले बढी काम गर्न पुग्यो ।

बाहिरफेरमा डीपी ढकाल हार्नुका कारणहरुमा पूर्वएमालेको अरुची वा पूर्व माओवादीको स्खलन जस्ता कुराहरु पनि चर्चामा आए । तर पराजित उम्मेदवार डीपी ढकाल यसलाई स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । उनले आफ्नो तयारी पनि नपुगेको र अर्कोतिर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी तथा मजदुर किसान पार्टीको पनि समर्थन गरेका हुनाले आफू विजयी हुन नसकेको खुलाएका छन् । उनका अनुसार पार्टी एकढिक्का नै रहेको थियो ।

ढकाल स्वीकार गर्छन्– ‘सत्तापक्षीय दलविरुद्ध भएको विपक्षीहरुको गठबन्धनलाई बेलैमा भत्काउन वा नहुन दिन सकिएन । तत्कालीन माओवादी भक्तपुरका इन्चार्ज दिलिप प्रजापति पनि हारको मुख्य कारण विपक्षी गठबन्धनलाई नै मान्दछन् ।’

नेकपा युवा नेता महेश बस्नेत भने पार्र्टी एकता प्रक्रिया ढिलो हुनु र तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादीबीचको भावनात्मक एकता नहुनु कारक रहेको स्वीकार गर्दछन् । यसका कारण उम्मेदवारविरुद्ध केही व्यक्तिगत गुनासो र चलखेलहरु रहे । उनका अनुसार उम्मेदवारको माओवादी पृष्ठभूमि रहेका कुराहरु पनि निकै उठेका थिए ।

यसका साथै, भक्तपुरमा डेरा जमाएर बसेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदाका कारण पनि डीपी ढकालले मत नपाएको चर्चा कम छैन । नेकपाको सरकार दुई वर्ष सत्तामा रहेर पनि जनताका बीचमा आर्थिक सुधारका कामहरु लैजान नसकेको कारण पनि हारको अर्को कारण रहेको राजनीतिक विश्लेषकहरुको रहेको छ । उपत्यकामा केन्द्रीय सरकारको कामको नकारात्मक÷सकारात्मक प्रभाव छिट्टै देखिने भएकाले पनि यसलाई इन्कार गर्न नसकिने बुद्धिजीवीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्