प्रचण्डको चीन भ्रमण रद्द



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २४ मंसिरमा हुने भनिएको चीन भ्रमण रद्द भएको छ । प्रचण्डको नेतृत्वमा ६० सदस्यीय टोली १० दिने भ्रमणमा जाने भनिएपनि विशेष कारणले गर्दा उक्त भ्रमण रद्द भएको अध्यक्ष प्रचण्डका सचिवालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा यही मंसिर २४ गते चीन भ्रमणमा जाने तयारी गरिरहेको थियो । पार्टीको आन्तरिक कारणले गर्दा उनको यो भ्रमण रद्द भएको जनाइन्छ । यसरी भ्रमण रद्द भएपछि अब फेरि चीन जानका लागि पार्टीमा छलफल गरेर निर्णय गर्ने जनाइएको छ ।

नेकपा स्कुल विभागको समन्वयमा हुने दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका नेताहरुको समेत सहभागिता हुनेछ । १० भन्दा बढी स्थायी समितिका सदस्यहरु सहभागी हुने बताइएको छ ।

दाहाल तीन दिन मात्रै चीनमा बस्ने र भ्रमण टोलीका बाँकी सदस्यहरु १० दिनसम्म बस्ने बताइएको थियो । चिनियाँ राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणपश्चात नेपाली टोलीको यो पहिलो उच्चस्तरीय भ्रमण रहेको थियो ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र दुई कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष दाहाललाई चीन भ्रमणको निम्तो दिइएको थियो । दाहाल नेतृत्वको भ्रमण टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्तसहित नेताहरु प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशी लगायतका नेताहरु रहनेछन् ।

भ्रमण टोलीमा पार्टीका केन्द्रीय सदस्य र केही जिल्ला अध्यक्ष रहने बताइएको थियो । तर अब अर्को भ्रमणका लागि पार्टी अध्यक्ष दाहालले गर्ने कि अरु कुनै नेताले गर्ने भन्ने बारेमा पछि नै छलफल गरेर टुङ्ग्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्