बाबुरामले पैचों तिर्दा यसरी भत्कियो लालकिल्ला



धरान : गोरखामा बाबुराम भट्टराईले नेपाली कांग्रेससँग लिएको पैंचो संघीय समाजवादी पार्टीमार्फत् धरान पुगेर उपनिर्वाचनमा तिरेपछि सत्तारुढ दल नेकपाको वर्चस्व गुम्न पुगेको छ । यसै कारण धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाका उमेदवार प्रकाश राईलाई २,७९५ मत अन्तरले पछाडि पारेका हुन् ।

तिलक राईले २६ हजार ७०९ मत प्राप्त गर्दा प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन् । सार्वजनिक भएको मतपरिणामसँगै अहिले बहस चलिरहेको विषय हो, नेकपाको बर्चस्व किन गुम्दै छ ? यसका पछाडी धेरै कारणहरुले काम गरेका छन् । पहिलो त, दुईतिहाई बहुमतको सरकारको काम जनमुखी देखिएन । यसले लिएको समाजवाद निर्माणको लक्ष्य र काम गराइमा आकाश पातालको फरक पर्न गयो । योसँगै स्थानीय जनप्रतिनिधिहरु धेरैजसो कमाउधन्दामा लागे । कतिपयले अख्तियार धाइरहेका छन् त कतिपय अदालती तारेखमा हाजिर छन् ।

जनप्रतिनिधिहरुको यस्तोखाले व्यवहार जनतालाई पचिरहेको थिएन । यसैबेला विपक्षी दलहरु सानोतिनो गठबन्धन बनाएर भएपनि अघि बढे । यसले चुनावी माहौल र मनोविज्ञान तयार गर्न मद्दत पुर्यायो । यसैमा विपक्षीहरुमा केही त भित्राभित्रै सहमती पनि गरिए । जस्तो कि धरानमा संघीय समाजवादी पार्टीले कांग्रेसलाई खुसुक्क मत दियो ।

अर्कोतर्फ सरकारविरुद्धमा माहोल बन्दै गैरहेका बेला सत्तारुढ पर्टीभित्र चरम महत्वाकांक्षा बढ्दै गएको छ । जहाँकहीं विवाद छ । एकले अर्कालाई टेरपुच्छर नै लगाउँदैनन् । उम्मेदवार सकभर साझा र सर्वसम्मत छान्नेभन्दा पनि कसको गुटको पर्ने भन्नेमा होडबाजी छ ।

पार्टी एकताको भाव संप्रेषण भैरहेको छैन । पूर्व पार्टी यथावत रहेका छन् । युद्धकालीन आग्रापूर्वाग्रह ज्युँदै छन् । संसदभित्रै लडाइँछ । सरकारभित्रै लडाइँछ । स्थानीय कार्यकर्तामा मेलमिलाप छैन । यो आफैमा सत्ताको प्रभाव र अभिव्यक्ति पनि हो ।

यस्तो अवस्थामा गुम्ने र गुमाउनेभन्दा पाउने केही पनि देखिदैन । ख्याल गर्नु जरुरी छ २०१५ सालमा नेपाली कांग्रेसले दुईतिहाईको सरकार गठन गरेको २ वर्षपछि २०१७ सालमा महेन्द्रले सैन्य ‘कु’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्