नरभक्षी चितुवा पक्रन कृत्रिम जासुसी



तनहुँ : दुई सातामा भानुमा दुई बालबालिकाको ज्यान लिनुका साथै एक जनालाई घाइते बनाएको नरभक्षी चितुवाको खोजी भइरहेको छ । डेढ महिनादेखि खोजी भइरहे पनि फेला पर्न सकेको छैन । 

यसबीचमा कुनै उपायबाट पनि चितुवा पक्रन नसकिएको र नागरिकमा त्रास रहिरहेकाले कृत्रिम जासुसीको सहारा लिने तयारी गरिएको छ ।

चितुवा बसेको ठानिएको भानु–२ स्थित मझुवाओख्ले सामुदायिक वनमा निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको वन डिभिजन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘नियमित गस्ती भइरहेको छ’, उनले भने, ‘तर उपलब्धि हासिल भएको छैन ।’ बालबालिकालाई निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयले चितुवा पक्रन प्रशासनमाथि दबाब दिएका थिए ।

वन डिभिजनले ठाउँ–ठाउँमा ट्र्याकिङ क्यामेरासहित वन क्षेत्रमा आठ वटा पासो थापेको थियो । चितुवा पक्रन सशस्त्र वनरक्षक तथा कर्मचारी र सशस्त्र प्रहरीको टोली दैनिक रात्रिकालीन गस्तीमा खटिएका छन् । 

तर, यति धेरै खोजी गर्दा पनि चितुवाको अत्तोपत्तो नलागेपछि खोज्न छाड्ने कि निरन्तरता दिने भन्नेमा वन डिभिजन अन्योलमा छ । विगतमा पनि खोजी अभियानकै बेला चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा नपक्रेसम्म खोजी नरोक्न दबाब दिएका छन् ।

स्थानीयको मागअनुसार तनहुँ प्रशासनले पनि चितुवाको खोजी नरोक्न वन डिभिजनलाई निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले लगातार ज्यान जाने घटना घटेकाले चितुवा नपक्रेसम्म खोजी अभियान नरोकिने बताए ।

‘नागरिकको सुरक्षाका लागि खोजी अभियान बीचमै नछाड्न निर्देशन दिएका छौं’, उनले भने । भानु नगरपालिकाले चितुवा पक्रनेलाई पुरस्कारको घोषणा गरेको छ ।

अब सफ्टवेयरको सहारा

वनरक्षक, सशस्त्र प्रहरी र कर्मचारी अनि पासो समेतमा चितुवा नपरेपछि वन अधिकारीले सफ्टवेयरको सहाराले चितुवाको जासुसी सूचना लिने तयारी गरेको छ । यसअघि क्यामेरामा एक पटक देखा परे पनि त्यसयता चितुवा बेपत्ता छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्