चीनसँगको सीमाक्षेत्रमा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा



काठमाडौं : उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । 

उत्तरी नाकाहरूमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए । 

‘संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको पनि लगभग टुंगो लागेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य उत्तरी जिल्लामा पनि जिल्ला सुरक्षा समितिबाट निर्णय भई कार्यालय राख्ने ठाउँबारे अध्ययन भइरहेको छ ।’ 

किमाथांकाबाहेक ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुलीमा सशस्त्रले बिओपी स्थापनाको प्रक्रिया अघि बढाएको हो । हाल रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकामा मात्र सशस्त्र प्रहरीको कार्यालय छ ।

चीनको नाकाबाट सुन, वन्यजन्तुका अंग तथा डलर तस्करी बढेको छ । तिब्बती नागरिकको अवैध आवातजावत नेपाल र चीनको सर्वाधिक चासोको विषय बनेको छ । 

पश्चिमी हिमाली जिल्लाका नाकाबाट बाघका छालालगायत वन्यजन्तुका अंगको तस्करी र कारोबार बढेको छ । आगामी दिनमा सुरक्षा चुनौती थप बढ्ने भएकाले बिओपी स्थापना गर्न लागिएको हो । सशस्त्रको बिओपी स्थापनामा सहयोग गर्ने चिनियाँ पक्षले पनि जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्