‘डन’हरुमाथि मुद्दा चलाउने सम्पत्ति शुद्धीकरणको तयारी, को–को तानिदैछन् ?



काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन थालेपछि गुण्डा नाइके र जुवाडेहरुसहित अकूत सम्पत्ति आर्जन गर्नेहरु छानबिनको कठघरामा उभ्याइन थालिएका छन् । गुन्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा अहिले गुन्डा नाइके तथा जुवाडेहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ ।

यस कार्यका लागि विभागले प्रहरीको सहयोग लिएको छ । प्रहरीको सहयोगमा कठघरामा उभ्याइएका माथि छानबिन शुरु भइसकेको छ । यस अघिका सम्पत्ति शुद्धीकरणका काम कारवाहीहरुमाथि अदालतले केही गति दिन थालेको पनि देखिन्छ ।

करीब सात वर्षअघि विभागले गणेश लामा, दीपक मनाङे (राजीव गुरुङ) चक्रे मिलन (मिलन गुरुङ), परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेका थियो । दायर गरिएको मद्दामा लामाबाहेक अरूले सफाइ पाएका थिए ।

हालै जुवाको खालबाट पक्राउ परेका बलराम सापकोटामाथि विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ । उनले जुवा खेलेर तथा जुवाडेलाई पैसा लगानी गरेरै करोडौँ कमाएको आशंकामा विभागले छानबिन सुरु गरेको देख्रिएको छ । सापकोटा ६ वर्षअघि पनि विभागको छानबिनमा परेका थिए । तर राजनीतिक दबाबका कारण उनको अनुसन्धान बीचैमा तुहाइएको थियो ।

गुन्डागर्दीको आडमा निर्माण व्यवसायको सिन्डिकेट चलाएर अकूत सम्पत्ति आर्जन गरेका सुकबहादुर लामा ‘बाघे’ को सम्पत्तिमाथि अनुसन्धान विभागको छड्के आँखा परेको छ । हाल उनीमाथि विभागले छानबिन गरिरहेको छ । उनले ‘इदरका माल उदर, उदरका माल इदर’ गरेर छोटो समयमै निकै सम्पत्ति आर्जन गरेका छन् । पछिल्लो समयमा त सामान ओसारपसारमा प्रयोग गरिने मालबाहक साधन ट्रकलाई नै ‘मोडिफाई’ गरेर यो धन्दा चम्काइरहेका छन् ।

ट्रकमा राखिएका समानको तौल कम देखाउने गरी मोडिफाइ गरिएको ट्रकको बडीका बारेमा जानकारी भएपछि उनको धन्दामाथि छानबिन थालिएको हो । तौल कम भएको देखाएर बढीभन्दा बढी सामान बेचेर ठगी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीसहित २३ जना निर्माण सामग्री व्यवसायीहरुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्