कास्कीमा खस्किएको कांग्रेसको जनमत



कास्की : ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म इमान्दार रहनेछु– कास्कीको म पत्येक मत, अनि देश विदेशका हरेकको मायाप्रति । राजनीति जिते मत जितिन्न तर सायद, मन जिते कि जस्तो लाग्छ । विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु ।’

प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ को गत शनिबार सकिएको मतदानबाट पराजित नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको हो यो मर्मस्पर्शी भनाइ । उनले राजनीतिक संस्कारयुक्त भाषामा आफ्नो भनाइ राख्दै नेकपाकी विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाइ दिए ।

तर अर्का पार्टी साझाका अध्यक्ष रवीन्द्र मिश्रले भने अलि केही फरक अभिव्यक्ति दिएका छन् । उनलाई आफ्नो जमानत जोगाउनसम्म मुस्किल परेको थियो । जमानत नै जोगाउन गाह्रो भएपछि मिश्रले यसो लेखेका छन्– ‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्यो, त्यसमा थप धेरै मिहेनत गर्नुपर्ने सन्देश दिएको छ । साथसाथै मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरुको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन, सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

यो उपनिर्वाचनले नेपाली कांगे्रसलाई सन्तोष लिने ठाउँ दिएको छ । उसले एक दह्रो प्रतिपक्षका रुपमा आफूलाई स्थापित गराउने मौका पनि पाएको छ । तर पनि उपनिर्वाचनको मतपरिणाम विशुद्ध राजनीतिक र वैचारिक भने छैन । यो मत असन्तुष्टि, खटपट, बेमेल, पूर्वाग्रहले पनि तलमाथि हुने गरेको देखिएको छ ।

अर्कोतिर वाम सरकारले भने झैं काम पनि गर्न सकिरहेको छैन । जनअपेक्षा र आकंक्षाको सम्बोधन नहुँदा पनि यसले मतआँकलन र मतदानमा ठूलो भिन्नता ल्याएको छ । सरकारको मन्त्रिपरिषद् पुनर्गठन, त्यसको नकारात्मक सन्देशले पनि यसमा असर पुर्याएको प्रष्ट देखिन्छ । उता नेपाली कांग्रेसले पनि आफ्नो छवि बनाउन, राम्रो काम, शैली र भूमिका निर्वाह गर्न सकेको होइन ।

जनता आफै पनि विश्वस्त देखिएका छैनन् । समस्या त यस्तो पनि देखिएको छ कि पुरानाले जनअभिमतको सम्मान गर्न सकेका छैनन् । तर नयाँ र विकल्पका रुपमा अघि सारिएका वैकल्पिक राजनीतिक शक्तिहरु पनि जनताका बीचमा लोकप्रिय हुन सकिरहेका छैनन् । साझा पार्टी र विवेकशील पार्टीले भोगेको हबिगत यसको ज्वलन्त उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्