भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार



कपिलवस्तु : सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलाको उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा राखिएका महिलाको उद्धार गरिएको हो । 

कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो । 

केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । उनीहरुलाई नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराएको बताइएको छ । 

भारतमा लगेर दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको उद्धार गरिएका महिलाको भनाइ छ । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका थिए । 

मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौँ महिला तथा किशोरी परेका छन् । 

प्रतिक्रिया दिनुहोस्