दलित बस्तीमा दलान 



जनकपुरधाम : जनकपुर उपमहानगरपालिका– ७ स्थित दलित बस्तीमा दलान बनाइने भएको छ ।दलान निर्माणका लागि भूमिपूजा गरिएको छ ।

पाँच सयको संख्यामा रहेका दलितको बस्तीमा दलान निर्माण गर्न वडाध्यक्ष जानकीराम साहले शनिबार भूमिपूजा गरे ।

दलित दलान बनाउन लागिएको ठाउँ जनकपुरको मुख्य बजारभन्दा केही पश्चिममा पर्दछ । दुई कट्ठा दस धुर क्षेत्रफल रहेको जमिनमा दलानसँगै धर्मशाला पनि बनाइनेछ । त्यस ठाउँमा एउटा ठूलो हल निर्माण गरिने र आवश्यक्ताअनुसार पछि कोठा थप्दै जाने योजना रहेको अध्यक्ष साहले बताए । 

दलित बस्तीमा दलान बनाउने आफ्नो पुरानो सपना रहेको बताउँदै साहले उक्त जमिन गुठीको भएको र जमिनमा भूमाफियाको नजर रहेका कारण दलान निर्माणका लागि सोही जमिन छनोट गरिएको दाबी गरे । उक्त जमिनमा दलित दलान बने जमिन सदुपयोग हुने उनको कथन छ ।

यसअघि सोही स्थानमा नेपाली सेनाले २ लाख ३० हजारको लागतमा शौचालय निर्माण गरी उद्घाटनसमेत गरिसकेको छ । धर्मशाला र शौचालय निर्माणले गर्दा टोलका बासिन्दा निकै खुसी छन् ।

धर्माशाला निर्माणका लागि वडा कार्यालयले आफ्नै बजेटमा काम सुरू गरेको छ । 

एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको धर्मशाला निर्माणका लागि १५ लाखसम्म खर्च हुने अनुमान वडा कार्यालयले गरेको सचिव चन्देश्वर साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्