हराएका तीन बालिका  बुटवलमा फेला परे



सुर्खेत : ६ दिनदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा फेला परेका छन् । मंगलबारदेखि हराएका तीनै बालिकालाई आइतबार बिहान इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल बसपार्कमा फेला पारेको हो । 

 पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन् । परिवारले खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएपछि सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरी खोजीकार्यमा जुटेको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक निरज चौलागाईले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले आइतबार बिहान बुटवल बसपार्कमा भेटाएपछि ती किशोरीलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीका अनुसार एक बालिकाका साथमा एक अर्का व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । बुटवलले सुर्खेतमा बालिका र साथमा रहेका व्यक्तिलाई पठाउने तयारी गरिरहेको छ । बालिकाका साथमा रहेका व्यक्ति को हुन् भन्ने बारेमा अनुसन्धानपछि मात्रै थाहा हुने चौलागाईले बताए । 

सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत खानीखोलाका १४ वर्षीया बालिका निशासिँह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दिदीबहिनी १५ वर्षीया यमुना खत्री र १२ वर्षकी रिचिमा खत्री बेपत्ता भएका थिए । 

यमुना र निशा कक्षा ९ मा अध्ययरत छन् भने रिचिमा कक्षा ७ मा पढिरहेकी छिन् । 

छिन्चुको प्रहरी टोलीले कोहलपुरमै पुगेर सोधपुछ गर्दा स्थानीयले बुटवलको गाडीमा चढेको भन्ने जानकारी दिएपछि बुटवल प्रहरीलाई खबर गरिएको थियो । फुपुको घर जाने भनेका बालिकाहरू त्यहाँ भने पुगेनन् । उनीहरूलाई बुटवल कसले पु¥यायो भन्ने कुरा अनुन्धानपछि मात्रै थाहा हुने निरीक्षक चौलागाईको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्