स्थानीय तह प्रदेश मातहतमा हुनुपर्छ : उपेन्द्र यादव



वीरगन्ज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय प्रणाली कार्यान्वयनका लागि आफूरू लागिपरेको बताएका छन् । 

संघीय प्रेस फोरम पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेनलमा अध्यक्ष यादवले नेपाललाई आर्थिक रूपमा सम्वृद्ध बनाउन राष्ट्रिय एकताको भावनात्मक आधार विकसित गर्नुपर्ने र त्यसका लागि संघीय प्रणाली ठूलो साधनको काम गर्ने बताए । 

 

‘देशको भविष्य नै संघीय प्रणालीमा निहित छ,’ अध्यक्ष यादवले भने, ‘केही व्यक्ति र संघसस्थाको फरक सोच आए पनि नेपालको भविष्य भनेकै संघीय प्रणाली हो ।’ उनले नयाँ सविधानमा संघीय प्रणालीलाई बलियो बनाउन कतिपय अप्ठ्यारा भएकाले संविधान संशोधन जरुरी रहेको प्रस्ट्याए ।

उनले प्रदेश सरकार गठन भए पनि काम गर्ने निकायको अभाव रहेको भन्दै स्थानीय निकायलाई प्रदेशको अधिकार क्षेत्रभित्र ल्याउनुपर्ने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्थानीय तहमार्फत लागू गर्नुपर्ने,  प्रदेशलाई प्रादेशिक मामिलामा अधिकारसम्पन्न बनाउनुपर्ने, प्रदेशको संघमाथिको निर्भरता कम गर्दै आत्मनिर्णय र आफ्नो खुट्टामा उभ्ने शक्ति र संरचनाका रूपमा विकास गर्नुपर्ने यादवको भनाइ थियो ।

उनले संघीय प्रणालीलाई संस्थागत गर्दै राष्ट्रिय एकता मजबुत बनाई विकास र समृद्धितर्फ लाग्ने बेलामा आफूहरू संघीय प्रणालीसँग जोडिएका तिनै विषयमा अड्किएको बताए ।

उपप्रधानमन्त्रीसमेत रहेका यादवले कम्युनिस्ट नेताहरूसँग सविधान संशोधन गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘संविधान संशोधनको प्रतिबद्धता संसद्को यही अधिवेशनमा पूरा हुन्छ भन्ने विश्वास लिएको छु ।’ 

अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि नयाँ संघीय कानुन बन्न लागेको बताए । उनले संसद्को चालू सत्रमा ५६ वटा कानुन संशोधन हुने जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले अहिलेको स्वास्थ्य नीति त्रुटिपूर्ण रहेको बताउँदै नयाँ स्वास्थ्य नीति ल्याउने अन्तिम तयारी भइरहेको बताए । उनले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन १२ सय स्वास्थ्य चौकी निर्माण गरिने र प्रत्येक नागरिकलाई औषधि, प्रयोगशाला, ल्याबटेस्टलगायत सुविधा निःशुल्क गरिने उल्लेख गरे ।

अध्यक्ष यादवले प्रत्येक प्रदेशमा न्यूनतम रूपमा स्वास्थ्यविज्ञान प्रतिष्ठान, जनकपुर अस्पताललाई प्रादेशिक अस्पताल, प्रदेशमा हेल्थ स्टोर खोल्ने र एउटा प्रादेशिक तालिम केन्द्र स्थापना गर्ने जानकारी दिए । उनले विज्ञसेवा सहितको केन्द्रीय अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको बताउँदै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गरेर केन्द्रीय अस्पताल बनाउने प्रस्ताव अगाडि बढाएको बताए । 

पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव, प्रदेश सांसद जन्नत अन्सारीलगायत संघीय फोरमका नेताहरूको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्