सैनामैनामा प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत



बुटवल : सैनामैना नगरपालिकामा नयाँ प्रशासकीय अधिकृतको स्वागत गरिएको छ । नयाँ प्रशासकीय अधिकृत टेकराज पन्थीलाई नगरप्रमुख चित्रबहादुर कार्की र उपप्रमुख बिना राना लगायत नगरपालिकाका कर्मचारीहरुले एक कार्यक्रम आयोजना गरी स्वागत गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख कार्कीले यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै भएको बताउँदै यसका लागि प्रशासनिक हिसाबले धेरै काम गर्न बाँकी रहेको बताए । यसका लागि नयाँ प्रशासकीय अधिकृतबाट चुस्त र सुशासनयुक्त सेवा प्रवाह गराउन महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउने अभियानमा लागेका प्रमुख कार्कीले सबै मिलेर “कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार” भन्ने नारालाई सफल पार्नुपर्ने बताए ।

उक्त अवसरमा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत बनेर आएका पन्थीले नगरको विकास र नगरपालिकाबाट जनताले पाउने सेवा सुविधा प्रवाहमा आफूले छिट्टो, छरितो र चुस्त सेवा प्रवाह गर्न भूमिका खेल्ने बताए ।

यसअघि गरुडा, गोदावरी लगायतका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर अब्बल दर्जाको काम गरेर चर्चामा आएका पन्थी यसअघि रौतहटको गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

गरुडा नगरपालिकामा जनप्रतिनिधिहरुको अनूचित दबाबका कारण काम गर्ने वातावरण नभएपछि आफैले सरुवा मागेर मन्त्रालयमा पुगेका थिए ।

सैनामैना नगरपालिका नेपालको ५ नं प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित नगरपालिका हो । साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गई २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पृर्नस्संरचना पश्चात साबिकको सालझन्डी गा.बि.स. गाभिन गई वृहत सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा ११ वटा वडा रहेका छन् । यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।

वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या ५५८२२ रहेको छ भने जनघनत्व ३४४.२ प्रति बर्ग कि.मि. छ । नगरपालिका भित्र सबै जातजाती, भाषा भाषी संस्कृति एवं परम्पराको समिश्रण रहेको छ ।

नगरवासीहरु वीच सुमधुर सम्बन्ध सहितको बसोबास छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना क्षेत्र नेपाल सरकारबाट नेपालको सयौ पर्यटकीय गन्तव्य मध्य एक सैनामैना नगरपालिका पनि २०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यस नगरपालिकामा वसाई सराई गरी आउने क्रम बढ्दो रुपमा रहेको हुदाँ हालको अनुमानित जनसंख्या करीव ८० हजार रहेको छ ।

विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि छन् ।

प्रतिक्रिया दिनुहोस्