तिंकर सडकको बजेट एक प्रतिशत पनि खर्च भएन



दार्चुला : दार्चुलाको खलगांदेखि तिंकर नाकासम्म जोड्ने सडकखण्ड ठेकेदार कम्पनीको लापरबाहीले १० वर्षदेखि अलपत्र परेको छ । १० वर्षमा ३० किलोमिटर सडकमात्रै यो खण्डमा निर्माण भएको छ ।   

दार्चुला सदरमुकाम खलंगाबाट तिंकरसम्म १ सय ३९ किलोमिटर दूरीको यो आयोजना आर्थिक वर्ष ०६५/०६६ मा सुरु भएको थियो ।

 

आयोजना निमार्णको जिम्मेवारी तीन कम्पनीलाई दिइएको छ । कामको जिम्मा लिएका नरसिंह जगदम्बा रायमाझी जेभी अहिलेसम्म सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । सम्पर्कमा नआएकाले कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको प्रजिअ आचार्यले बताए । 

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो सडकखण्डले कैलास मानसरोवर तथा तिब्बतको ताक्लाकोट नाका जोड्ने गर्दछ । उक्त सडकखण्डलाई विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशको तिब्बतसँग व्यापारिक सम्बन्धमा टेवा पुग्ने देखिन्छ । तर, सडक निर्माणका लागि अहिलेसम्म राज्य तथा राजनीतिक दलहरूले चासो लिएको देखिएन ।

चालू आर्थिक वर्षमा दार्चुला–तिंकर सडक निर्माणका लागि ३० करोड १७ लाख रुपैयाँ विनियोजन भए पनि अहिलेसम्म एक प्रतिशत पनि खर्च नभएको सडक आयोजनाका सूचना अधिकारी दिनेश रैखोलाले बताए । 

आयोजनाका प्रमुख रामचन्द्र शाहले ठेकदारलाई पटकपटक सूचना गर्दा पनि सम्पर्कमा नआएका कारण कारबाहीका लागि प्रशासन र विभागलाई पत्राचार गरेको बताए । निर्माणाधीन सडकखण्डमा एकजना ठेकेदार कम्पनीको लापरबाहीका कारणले गर्दा अरू निर्माण कम्पनीको काममा पनि प्रभाव परेको शाहले बताए । 

जिल्लाका सबै राजनीतिक दलका लागि दार्चुला–तिंकर सडकखण्ड निर्वाचनताका बलियो मुद्दा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्