मेयरको दबाबमा सडक विस्तार अवरुद्ध 



जनकपुरधाम : जनकपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकीराम साहले सहरको सडक विस्तार अभियान बाधित गर्ने

गरी अतिक्रमण खाली गराउन चासो नलिएको आरोप लगाइएको छ । 

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भइरहेको सडक र नाला निर्माणक्रममा ७ नम्बर वडाका प्रायः सबै बाटो फराकिला बनाइएका छन् । सडक निर्माणका लागि सडक छेउका संरचना पनि तोडिएका छन् । तर, टिभिएस बाइकको सोरुम भएको दुईतल्ले घर भने तोडिएको छैन । 

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको दबाबमा उक्त घर नतोडिएको आरोप स्थानीयले लगाएका छन् । वडाध्यक्ष जानकीराम मेयर साहसँग नजिक मानिन्छन् । 

पुरानो बसपार्कबाट पश्चिम जाने बाटोमा कब्रगाहभन्दा केही पश्चिममा रहेको उक्त घर सञ्जीव साहको हो । साहको दुईतल्ले घरको १६ देखि १८ इन्चसम्मको भूभाग सडकमा जाने देखिएको छ । साहको घर जोगाउन मेयरदेखि वडाध्यक्षसम्म लागिपरेको वडा नं. ७ का रञ्जीत साहको कथन छ ।

रञ्जीतको प्रश्न छ, ‘सबैका घर तोडिए । तर, बीचबाटोमा रहेको टिभिएस सोरूमवाला घर तोडिएन । आखिर किन ?,’ वडाध्यक्ष साहले सडक विस्तारमा भेदभाव गरिएको आरोपलाई अस्वीकार गरे । उनले भने, ‘हामीले विभेद गरेका छैनौं । नियमानुसार सबै काम विस्तारै हुँदै जाने हो ।’

उनले उक्त घर जोगाउन मेयरको निर्देशन वा दबाब आएको कुरालाई अस्वीकार गरे । तर, त्यो घरअगाडिको बाटो क्लियर गर्न ढिला भएकोे अध्यक्ष साहले बताए । दुईतीन दिनभित्रै बाटो क्लियर गÞिरने वडाध्यक्ष साहको दाबी छ । 

उपमहानगरपालिकाकी उपमेयर रीता झाले मापदण्डबाहिरका सबै घर तोडिने बताइन् । उक्त घर नतोडिएकोमा आश्चर्य मान्दै उपमेयर झाले भनिन्, ‘सडक विस्तार गर्न गठन गरिएको एक्सन कमिटीको अध्यक्षका हैसियतले म दाबाका साथ भन्छु, दुईतीन दिनभित्रै बाटो क्लियर हुनेछ ।’ 

स्थानीय तह निर्वाचन भएको झन्डै डेढ वर्ष भएको छ । यस अवधिमा वडाध्यक्ष साह निडर, प्रस्ट र राम्रो काम गर्ने जनप्रतिनिधिका रूपमा चिनिएका छन् । तर, मेयर साहको दबाबमा परेपछि जानकीरामको छवि धुमिल हुँदै गएको वडा नं. ७ कै स्थानीय राजीव झाले बताए । 

जनकपुरमा एडीबी परियोजनाअन्तर्गत सडक, सडकपेटी र नाला निर्माणकार्यको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । विभिन्न विवादका कारण केही स्थानका काम बाँकी छन् । यी ठाउँमा मेयर र सम्बन्धित वडाध्यक्षकै कारण काम हुन नसकेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्