सांसद महिलाको अनुभव, ‘राजनीतिक दलमा पुरुष अझै हावी’



जनकपुरधाम : जनकपुरधाममा प्रदेश २ का महिला सांसदको भूमिका र क्षमताबारे अन्तरक्रिया भएको छ ।

क्रियाशील पत्रकार महिला, धनुषाको आयोजनामा भएको अन्तरक्रियामा प्रदेश २ का प्रदेशसभा सदस्य महिला, पत्रकार, अधिकारकर्मीलगायतको सहभागिता रह्यो ।

कार्यक्रममा प्रदेश २ की उपसभामुख उपमा देवले प्रदेशसभामा सांसद महिलाको भूमिका निकै महत्वपूर्ण रहेको बताइन् । आगामी दिनमा प्रदेशसभामा महिला हकहितका मुद्दाको उठान हुने क्रम बढ्नेमा आफू आशावादी रहेको उनको जिकिर थियो ।

प्रदेशसभा सदस्य सुरिता साहले प्रदेशमा सांसद महिलाको भूमिकाबारे प्रश्न उठ्नुलाई आफूले सकारात्मक रूपमा लिएको बताइन् । कामकर्तव्यबारे प्रश्न उठ्नुले आफूहरूलाई थप जिम्मेवार बनाएको उनको कथन थियो । 

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले आफ्नो दलभित्र पनि पुरुष नै हावी रहेको स्विकार्दै आफ्नो स्तरबाट महिलाले पनि आवाज उठाउँदै आएको प्रस्ट पारिन् । अर्को एक प्रसंगमा सांसद तिवारीले प्रदेशको नाम र राजधानीका विषयमा सुझाव संकलन समितिले काम गरिरहेको र समितिको प्रतिवेदन आएपछि छलफल गरी यस विषयलाई टुंग्याइने बताइन् । 

महिला अधिकारकर्मी मुन्नीदेवी दासले महिलाको समस्याका बारेमा सांसद महिलाले पनि ध्यान नदिएको जिकिर गरिन् । सांसद महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड थियो ।

अधिवक्ता रेखा झाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला नेतृको दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै प्रदेशभित्र महिला सुरक्षा आवासको व्यवस्था गरिदिन आग्रह गरिन् ।

क्रियाशील पत्रकार महिला, धनुषाकी अध्यक्ष रिंकू मिश्र(गायत्री)को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, धनुषाकी उपाध्यक्ष मनिका झाले प्रदेश २ का सांसद महिला सक्षम रहेको तर निर्णय लिने क्षमताको भने अझै विकास गर्नुपर्ने धारणा राखिन् । उनले प्राप्त अवसरलाई सही तरिकाले सदुपयोग गर्न सिक्नुपर्ने आवश्यक्ता औंल्याइन् । 

सञ्चारकर्मी नेहा झाले प्रदेशसभा समितिहरूमा महिलालाई संयोजक नबनाइएकोमा आपत्ति जनाइन् । 

सञ्चारकर्मी गुन्जा रायले वैदेशिक रोजगारीका कारण प्रदेश २ का महिलाको समस्या र चुनौती बढ्दै गएको तर्फ सांसदहरूको ध्यानाकर्षण गराइन् ।

ओरेक धनुषाकी निर्मला काफ्लेले बालविवाह, दाइजो र वैदेशिक रोजगारीका कारण महिला बढी पीडित भएको अनुभव सुनाइन् ।

महिला हिंसाका घटना पहिले पनि हुने गरेको तर सञ्चारमाध्यम र इन्टरनेटका कारण अहिले प्रकाशमा आउने गरेको बताउँदै सहभागीहरूले महिलामाथि हुने हिंसामा दोषी देखिएकालाई कडा साजयको माग गरे ।

प्रतिक्रिया दिनुहोस्