दुई करोडको सुन पचाउन एसएसपीको सहारा



काठमाडौं : तेत्तीस किलो सुन प्रकरण सेलाईरहेका बेला सुन तस्कर र माफियाहरुको बिगबिगी फेरी बढेको छ । पहिला तातोपानी नताकाबाट हुने तस्करी अहिले रसुवागढीतिर सरेको छ ।

सुन तस्करहरुले अवैध रुपमा सुन भित्र्याईरहेको समाचारहरु अहिले फेरी बाक्लिन थालेका छन् । फाट्टफुट्ट अवैध सुन प्रहरीले पक्राउ गरेपनि तस्कर र माफियाहरु भने बच्दै आएका छन् । यसैक्रममा राजधानीमा एउटा घटनाले चर्चा पाएको छ ।

केही दिनअघि तस्करीको सुन क्यारिङ गर्ने सुमन खत्रीले ४ किलो सुन काठमाडौंमा ल्याइसकेपछि सुन लुटिएको भनेर मजदुरलाई थुनाएको समाचार बाहिर आएको छ । खत्रीले आफ्नो अपहरण आफै गर्दै मिलेमतोमा सुन लुटाई सुनमालिकको आँखामा छारो हाल्न ती मजदुरलाई बलीको बोको बनाएका छन् ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नं.१ (क) मा उम्मेदवार बनेका विष्णु खत्रीका कान्छा भाई सुमनले सिन्धुपाल्चोककै भोटेकोशी ५ निवासी विष्णुबहादुर खड्कालाई यसरी बलीको बोको बनाउदै बौद्ध प्रहरी वृत्तमा थुनाएका हुन ।

सामान्य यातायात मजदुर रहेका खड्कालाई सुन लुटेको आरोपमा प्रहरीले अनुुसन्धान गरिरहेपनि खड्कामाथि सार्वजनिक अपराधको आरोप लगाएको छ । तर प्रहरीले उनीमाथि सुनकै बिषयमा अनुसन्धान गरिरहेको बौद्ध प्रहरी बृत्तका प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताएका छन् । उनले भने–‘केस सुन लुटेको हो । तर सार्वजनिक अपराधमा म्यादथप गरिएको छ । एक ब्यक्तिको कोदारीबाट ल्याएको ४ किलो सुन लुटेको भन्ने छ । सुन क्यारिङ गर्नेले बुझायो, बुझाउनासाथ लुटिएको कुरा आएको छ । लुट्नेमा खड्काको संलग्लता देखिन्छ । अनुसन्धान गरिरहेका छौं ।’ डीएसपी सिंहले खड्का अन्य घटनामा पनि संलग्न भएको बताए ।

घटना विवरण अनुसार गएको ११ गते रसुवा नाकाबाट भित्रिएको ४ किलो सुन खड्काले मोटरसाइकलमा आएका सुमनलाई बुझाए । सुमनको पछि पछि अर्को कुनै माटरसाइकलले पिछा गरेको आशंका गर्दै खड्काले सुमनलाई फोन गरे । त्यसैलाई सुमनले निहुँ बनाउँदै उक्त सुन लुटिएको रिपोर्टिङ सुनमालिकसम्म पुर्याए । त्यसपछि जुक्ति निकाले खड्कालाई समाउने । सुन तस्कर सुमनले महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई प्रयोग गरेर खड्कालाई समाएको बताईएको छ ।

अहिले यस घटनामा निर्दोष खड्कालाई फसाएर सुमनले उक्त ४ किलो सुन पनि पचाउन खोजेका छन् । जुन सुनको मूल्य अहिले बजारमा २ करोड बराबरको रहेको बताईन्छ । तातोपानी नाका चालु रहँदा रक्तचन्दनका ‘डन’ भनेर परिचित खत्री बन्धुहरुसँग एसएसपी थापाको पुरानो र निकटको सम्बन्ध रहेको छ । सिन्धुपाल्चोकको डीएसपी हुँदा रक्तचन्दन कारोबारी खत्री र थापाको सम्बन्ध निकट बनेको थियो । खत्रीहरुको कारोबार संरक्षण गरेबापत खत्रीहरुले थापालाई करोडौ रकम दिएको त्यसबेला व्यापक चर्चा थियो ।

अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा प्रमुख बनेर आएपछि थापाले हुण्डी व्यापारीहरुसँग लाखौ रकम असुल उपर गरेको लगायतका केही काण्ड प्रहरी मुख्यालयमा पुगेको चर्चा छ ।

उता सुमन खत्रीले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आफूले सुनको कारोबार नै नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्