वैदेशिक रोजगारीमा जानेलाई प्रदेशबाटै श्रम स्वीकृति



काठमाडाैं : वैदेशिक रोजगारीमा जानेहरुलाई प्रदेशबाटै श्रम स्वीकृति दिन थालिएको छ ।

प्रदेश २ र प्रदेश ५ ले आइतबार आफ्ना नागरिकलाई श्रम स्वीकृति दिँदै यस प्रक्रियाको सुरुवात गरेको हो ।

प्रदेश २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयले एमडी जिलानी मोमिनलाई श्रम स्वीकृति दिइ सेवाको सूरुवात गरेको छ भने प्रदेश ५ को बुटवलस्थित श्रम तथा रोजगार कार्यालयले वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गर्यो ।

प्रदेशबाटै श्रम स्वीकृति दिने काम सुरु भएपछि सेवाग्राही खुसी भएका छन् ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन प्रदेशबाट श्रम स्वीकृति दिन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि चाँडै सेवा प्रवाह गरिने तयारी मन्त्रालयले गरेको छ ।

मन्त्रालयले प्रदेशस्थित कार्यालयबाट हुने कामहरुको टुँगो लगाएको छ । जसअन्तर्गत प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशीक रोजगारीसम्बन्धी इजाजत पाएका संस्थाको अनुगमन तथा नियमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने, गुनासो सुनुवाइ गर्ने लगायतका काम छन् ।

प्रदेशबाटै श्रम स्वीकृति पाएपछि काठमाडौंदेखि दूरदराजका जनता खुशी भएका छन् । यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने व्यवस्था काठमाडौंबाट मात्र हँुदा काठमाडौं आउनै पर्ने बाध्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्