निर्मला हत्या प्रकरण : आइजिपीले फेरि आश्वासन दिए 



कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका प्रहरी एकाइ अनुगमनक्रममा आइतबार कञ्चनपुर पुगेका नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणमा पीडितले न्याय पाउने आश्वासन पुनः दिएका छन् । 

उनी यसअघि पनि हत्या प्रकरणकै छानबिन तीव्र बनाउन कञ्चनपुर आएका थिए । हत्यारा चाँडै पत्ता लाग्ने भन्दै खनालले पटकपटक दाबी गरे पनि अहिलेसम्म प्रहरी अनुसन्धान निष्कर्षविहीन छ । दुईपटक हत्यारा भनी प्रहरीले सार्वजनिक गरेकाहरू निर्दोष साबित भएर रिहा भइसकेका छन् । 

 

कञ्चनपुर आएका खनालले अनुसन्धानमा  कसैको दबाब र प्रभाव नभएको बताए । उनले अनुसन्धान पूर्ण व्यावसायिक रूपमा भइरहेको दाबी गरे । 

 

निर्मला हत्या अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महिला अधिकारकर्मीसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा महानिरीक्षक खनालले भने, ‘निर्दोष फस्दैनन्, दोषी जोकोही र जतिसुकै ठूलो वा सानो भए पनि छुट्दैन ।’ कानुनको नजरमा सबै समान रहेको उनको भनाइ थियो । 

प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको महानिरीक्षक खनालले बताए । निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्