अस्ट्रेलियासँगकाे तेस्रो टेस्टमा भारत विजयी



एजेन्सी : भारत र अस्ट्रेलियाबीच जारी टेस्ट क्रिकेट श्रृंखलाको तेस्रो खेल भारतले जितेको छ । मेलबर्नमा भएको तेस्रो खेल १ सय ३७ रनले जित्दै भारत चार खेलको श्रृंखलामा २–१ ले अगाडि बढेको छ ।

यस जितसँगै अस्ट्रेलियाको श्रृंखला जित्नेसम्भावना पूर्ण रुपले सकिएको छ भने श्रृंखलामाथि कब्जा गर्ने भारतको आश अझै जीवित छ ।

३ सय ९९ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले चौथो दिनको खेल सक्दासम्म ८ विकेटको नोक्सानीमा २ सय ५८ रन बनाएको थियो । १ सय ४१ रनको लक्ष्य र २ विकेट बाँकी रहेको अवस्थामा आइतबार पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको अस्ट्रेलियालाई भारतले ४.३ ओभरमै अलआउट गर्यो । 

वर्षाका कारण ढिला सुरु भएको खेलमा जसप्रीत बुमराहले पैट कमिन्सको विकेट लिएपछि अस्ट्रेलिया झनै दबाबमा आएको थियो । लगत्तै इशान्त शर्माले नाथन लियोनको विकेट लिए ।

पहिलो इनिङमा ६ र दोस्रोमा ३ विकेट लिएका बुमराह खेलको म्यान अफ द म्याच घोषित भए । बुमराहको यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । त्यस्तै, अस्ट्रेलियाविरुद्ध एउटै टेस्ट क्रिकेटमा ९ विकेट लिने उनी पहिलो भारतीय बलर पनि बनेका छन्।

यसअघि खेलको पहिलो इनिङमा भारतले ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएर इनिङ डिक्लेयर गरेको थियो ।

जवाफी ब्याटिङमा अस्ट्रेलिया मात्र १ सय ५१ रनमा अलआउट भयो । पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गरेको भारतले दोस्रो इनिङमा १ सय ६ रन बनाएर पारी समाप्तिको घोषणा गर्यो । अस्ट्रेलिया दोस्रो इनिङमा पनि खेलमा फर्किन सकेन र तेस्रो खेल भारतको पोल्टामा गयो ।

श्रृंखलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो ।

चौथो तथा अन्तिम खेल आगामी बुधबारदेखि सिड्नीमा खेलिनेछ । अन्तिम खेल भारतले जिते चार खेलको श्रृंखला भारतको कब्जामा जानेछ ।

 

दुई बीचको खेल बराबर भएमा पनि श्रृंखलामा भारतकै कब्जा हुनेछ । श्रृंखलामा हारबाट बच्नका लागि अस्ट्रेलियाले भारतलाई हराउनैपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्