प्रधानन्यायाधीशको सुनुवाइ आज सकिएन, अर्को बैठक पर्सि



काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको सुनुवाइ पर्सिका लागि सरेहो छ । 

सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशलाई आइतबार दिउँसो २ बजे बोलाइएको थियो । बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । 

त्यसलगत्तै सांसदहरुले राणालाई विभिन्न प्रश्न गरे । उच्च अदालतमा न्यायाधीशको रूपमा आउँदा ‘ब्ल्याकमेल’ गरेको, शिवकुमार मण्डलको जग्गाको फैसला गर्दा बिचौलियासँग साँठगाँठ गरेको लगायत विषयमा राणामाथि समितिमा प्रश्न उठाइयो ।

जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलास बहिष्कार गरेको, पूर्व राजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो पाएको भन्दै फैसला गरेको लगायतका प्रश्न सांसदहरूले गरेका थिए । 

चार बज्नै लाग्दा आजको बैठक स्थगीत गरिएको छ । सांसदहरुले सुनुवाइ प्रक्रिया जारी राख्न चाहेपनि सभापति कर्णले कर्मचारीहरुको आन्दोलनका कारण यो सम्भव नभएको भन्दै बाँकी छलफल भोलि ११ बजेलाई तोके ।

तर, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोलि मेलमिलाप दिवसको कार्यक्रममा व्यस्त हुने भएकाले आफूहरु उपस्थित हुन नसक्ने बताएपछि पर्सि ११ बजेलाई बैठक राखिएको छ । जबराले पनि पर्सि नै जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्