बागलुङ जीप दुर्घटना अपडेट : मृत्यु हुने १४ जनाको सनाखत (नामावलीसहित)



बागलुङ : बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बागलुङको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि बूर्तिवाङ पठाइएको छ ।

प्रहरीका अनुसार जीपमा १८ यात्रु सवार रहेका र एक जना बेपत्ता भएको बताइएको छ । चालकको समेत मृत्यु भइसकेका कारण घटना अनुसन्धानका लागि कठिनाई भएको छ । क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जीप सडकबाट ५ सय मिटर तल खोलामा खसेको थियो ।

त्यस्तै मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का २५ वर्षीय रशेम थापा (चालक) र २३ वर्षीया माया थापा, ४० वर्षीया बसुन्धारा कार्की, ४० वर्षीया सीता कार्की, तुलसी कार्की, ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मीना कार्की, धनबहादुर कार्की र ४० वर्षीया झवि कार्की रहेका छन् ।

यसैगरी नवलपरासी वर्दघाटका झुमा कार्की, बागलुङ बडिगाड ५ की ५५ वर्षीया लक्ष्मी केसी, सुचना कार्की र अन्दाजी ५ वर्षीय बालिका रहेको प्रहरीले जनाएको छ । साथै घाइते हुनेमा नवलपरासी वर्दघाटका जीवन कार्की, रोल्पा घर इस्मा माइती भएकी नीमा कार्की खत्री र इस्मा गुल्मीका हिमाल कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्