प्रदेश २ प्रहरी ऐन आयो, खसआर्य पनि आरक्षणमा



जनकपुरधाम : प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश प्रहरी ऐेन, २०७५ प्रमाणीकरण गरेका छन् । 

उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रहरी ऐन प्रमाणीकरण गरेको  प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रह्मानन्द ठाकुरले बताए ।

 

यस ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची छन् । यस ऐनमा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनले निर्धारण गरेबमोजिम हुने व्यबस्था छ । यी व्यवस्था ऐनको दफा ९९ मा उल्लेख छ ।

 

ऐनको दफा १०० अनुसार प्रदेश लोकसेवा गठन नभएसम्म प्रदेश लोकसेवा आयोगले गर्ने भनी तोकेका काम, कर्तव्य लोकसेवा आयोगले गर्ने उल्लेख छ ।

 

त्यस्तै दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको सांगठनिक संरचना र प्रहरी कर्मचारीको संख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोकेबमोजिम हुने व्यवस्था छ ।

 

प्रदेश प्रहरीको प्रमुखका रूपमा राजपत्राकिंत विशिष्ट श्रेणीका प्रहरी महानिरीक्षक रहने व्यवस्था छ ।

 

त्यस्तै खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको छ । जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेसी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, आदिवासी जनजाति ६.६१, थारू ५.२७ प्रतिशत र आर्थिक रुपले विपन्न खसआर्य ४.८९ प्रतिशत छुट्याइएको छ । यसको प्रत्येक समूहमा ५० प्रतिशत महिलाका लागि आरक्षित गरिएको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए ।

 

प्रतिक्रिया दिनुहोस्