गढीमाईलाई विश्व सम्पदा सूचीमा राख्न प्रभु साहको माग



बारा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न आग्रह गरेका छन् ।

प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रीत गर्ने र लाखौं तिर्थालु एवं पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गराउन पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

‘तपाई हामी सबैलाई थाहा भएकै कुरा हो कि गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रीत गर्ने महामेला पनि लाग्ने गर्दछ’ साहले भने – ‘विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ, त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।’

नेपालको आर्थिक उन्नतिका पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको जीकिर गर्दै अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरि मधेशमा पर्यटक भित्र्याउन सकिने बताए । गढीमाईलाई विश्व सम्पदा सूचीमा राख्नु त्यसको आधार बन्ने उनको विश्वास छ । अध्यक्ष साहले माता जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा समेट्न आग्रह गरेका हुन् ।

हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन ।

प्रतिक्रिया दिनुहोस्