जनकपुर श्रम कार्यालयलाई पहिलो गाँसमै ढुंगा



जनकपुरधाम : सेवा सुरु भएको पहिलो दिनमै प्रदेश २ को श्रम तथा रोजगार कार्यालयको टेलिफोन बिग्रिएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई प्रदेशबाटै श्रम स्वीकृति दिने संघीय सरकारको निर्णयबमोजिम आइतबारबाट श्रम स्वीकृति दिन सुरु गरेको जनकपुरस्थित सो कार्यालयले दिएको नम्बरमा फोन गर्दा पहिलो दिन नै सम्पर्क हुन सकेन । 

कार्यालयले सेवाग्राहीका लागि भनेर कार्यालयबाहिर राखेको बोर्डमा फोन नम्बर उल्लेख छ । तर, बोर्डमा लेखिएको नम्बरमा फोन नलागेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

भर्खरै खुलेको कार्यालय कुन ठाउँमा छ भन्ने जानकारी पनि सबैलाई छैन । प्रदेश २ को धनुषाबाहेकका जिल्लाबाट आउने सेवाग्राहीलाई ठाउँ खोज्न झनै गाह्रो भयो । आवश्यक जानकारी लिनका लागि कार्यालयको टेलिफोन नम्बर प्रयोग गर्न सकिने अवस्था छैन । पहिलो दिन नै बिग्रिएको फोन कहिले ठीक हुन्छ भन्नेबारे कार्यालयलाई समेत केही थाहा छैन ।

कार्यालय प्रमुख मनोज यादवका अनुसार मुरलीचोकमा सडक निर्माण कार्य भइरहेकाले टेलिफोन अवरुद्ध भएको हो । फोन कहिलेसम्म ठीक हुन्छ भन्नेबारे आफूहरूले भन्न नसक्ने उनको भनाइ छ ।

यादवले पहिलो दिन नै ५० भन्दा बढी सेवाग्राही आवश्यक कामका लागि कार्यालय आएको जानकारी दिए ।

जनकपुरको मुरलीचोकबाट क्याम्पसचोक जाने बाटोमा रहेको कार्यालयको मूल ढोकामा बोर्ड राखिएको छ । उक्त बोर्डमा सेवाग्राहीका लागि भनेर कार्यालयले ०४१–५२०१३५ नम्बरको टेलिफोन भएको उल्लेख गरेको छ ।

आइतबार प्रदेश २ को श्रम कार्यालयबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति धनुषा जिल्लाको बहुअर्वाका एमडी जिलानी मोमिन बने । श्रम स्वीकृति लिएपछि खुसी हुँदै जिलानीले अब पैसा र समय बच्ने भयो भन्ने प्रतिक्रिया दिए ।

जिलानीमात्र नभई वैदेशिक रोजगारमा जान चाहने सबैका लागि प्रदेशमै आवश्यक सेवा प्राप्त गर्न पाउनुलाई सुखद सुरुवात मानिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै प्रदेश २ कै छन् । यस हिसाबले प्रदेश २ को श्रम कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक हुने पक्का छ ।

भविष्यमा सेवाग्राहीको चाप अत्यधिक बढ्ने सम्भावना भएकाले यस संस्थाले आफ्नो सेवा छिटो र छरितो बनाउन सक्नु संस्थाका लागि ठूलो चुनौती छ ।

 

प्रतिक्रिया दिनुहोस्