विभिन्न समुदायको चाड बिदा पुनरावलोकनको संकेत



काठमाडौं : विभिन्न समुदायको चाड बिदा पुनरावलोकनको संकेत देखिएको छ । आइतबार तमु ल्होछारको अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न चाड बिदाबारे पुनर्विचार गर्ने संकेत गरेका हुन् ।

‘मैले तपाईंहरुको भावना र माग बुझें, जायज माग पूरा गर्नका लागि पहल गर्नेछु’ तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले गरेको ल्होछार कार्यक्रममा उनले भने, ‘मैले यहाँ घोषणा गर्न मिलेन । प्रक्रियाअनुसार तपाईंहरुको जायज माग पूरा हुन्छ ।’

गुरुङ, मगर, राई, लिम्बु, थारु, तामाङलगायतका आदिवासी जनजाति समुदायले प्रमुख चाडमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरिएकोमा विरोध गर्दै आएका छन् । उनीहरुले जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाउने, माइतीघर मण्डलामा धर्ना दिनेलगायतका कार्यक्रम गरेका थिए ।

छोंज धिंका अध्यक्ष रेशम गुरुङले आजकै कार्यक्रममा पनि विगतमा ल्होछारका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा काटिँदा गुरुङहरु आन्दोलित भएको उल्लेख गर्दै बिदा कटौतीको निर्णय पुनरावलोकन नगरे बाध्य भएर आन्दोलनमा जानु पर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले त्यही मञ्चबाट माग पूरा गरेको घोषणा गर्दा त्यही वरिपरि ‘प्रधानमन्त्री स्वेच्छाचारी’ भए भन्ने मान्छेहरु पनि रहेको उल्लेख गर्दै आफूले प्रक्रिया पूरा गरेर माग पुरा गर्ने आश्वासन दिए ।

गुरुङ समुदायले १५ पुसको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टुँ‌डिखेलमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्