रक्सौल–काठमाडौं रेलमार्गको रुट परिवर्तन, विद्युतीय रेलमार्ग बनाउने प्रस्ताव



काठमाडौं : नेपाल सरकारले रक्सौलदेखि काठमाडौं आउने रेलमार्गलाई विद्युतीय बनाउने भएको छ । यसअघि ब्रोडगेज रेलमार्ग बनाउने आफ्नै निर्णय परिवर्तन गर्दै सरकारले विद्युतीय रेलमार्ग बनाउने निर्णय गरेको हो ।

सरकारले रेलमार्गको रुट पनि परिवर्तन गरेको छ । यसअघि रक्सौलदेखि वीरगन्ज हुँदै काठमाडौं आउनेगरी निर्धारण भएको रुट परिवर्तन गरेर रक्सौल–वीरगन्ज–जीतपुरबाट प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आउने रुटका लागि सम्भाव्यता अध्ययन अघि बढाइएको हो ।

चीन र भारतलाई जोड्ने त्रिदेशीय रेलमार्गका लागि विद्युतीय रेलमार्ग उपयुक्त हुने देखिएकाले भारत सरकारसँगको सम्झौताभन्दा फरक रेल मार्गको अध्ययन थालिएको भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । यसअघि सरकाले ब्रोडगेज रेलमार्गको सम्भाव्यता अध्ययनको जिम्मा भारत सरकारलाई दिइसकेको थियो ।

मन्त्री महासेठले भने, ‘मुलुकको चौतर्फी विकासका लागि आवश्यक रहेको विकासको ‘मल्टि मोडेल’ ढाँचामा जान रक्सौल–काठमाडौ रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रूतमार्गबीचको ‘कनेक्टिभिटी’ आवश्यक छ ।’

सुरुमा रक्सौलबाट काठमाडौंसम्म आइपुग्ने प्रस्तावित रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुने अनुमान गरिएको थियो । रुट परिवर्तन भएपछि रेलमार्गको लम्बाइ पनि बढ्न सक्ने बताइएको छ । 

रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान गरिएको छ । रेलमार्ग काठमाडौंको चोभारमा जोडिने गरी अध्ययन भइरहेको मन्त्री महासेठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्