कलाकारहरुका थरिथरिका कार



काठमाडौं : केही वर्ष यता नेपाली सिनेमाले सफल कारोबार गर्न थालेको छ । फिल्म निर्माताहरुले पनि लगानी पनि बढाउन थालेका छन् । लगानी बढेसँगै कलाकारले लिने पारिश्रमिक पनि आकाशिँदै गएको छ ।

पारिश्रमिक आकाशिएसँगै कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो पछिल्लो समय प्रायः सेलिब्रेटी कारमा गुड्ने गरेका छन् । उनीहरुको आम्दानीको स्रोत सिनेमा, म्युजिक भिडियो, विज्ञापन, स्टेज शोहरु रहेका छन् ।

दीपकराज गिरी

‘छक्का पञ्जा २’ को सफलतापछि कलाकार दीपकराज गिरीले नयाँ कार किने । यसअघि उनले हास्यकलाकारको रुपमा स्थापित हुँदा ३१ लाखको स्वीफ्ट डिजायर चढ्ने गरेका थिए । तर ‘छक्का पञ्जा २’ को सफलतापछि उनले विशेष सेवा र सुविधासहितको टाटाको हेक्जा कार किने । यसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यससँगै दीपकराज गिरी महंगो गाडी चढ्ने सेलिब्रेटीको सूचीमा पनि परेका छन् ।

आयुष्मान देशराज जोशी

पछिल्लो पुुस्तामा सबैभन्दा महंगो कार चढ्ने अभिनेतामा पर्छन् आयुष्मान देशराज जोशी । तर उनलाई उनको पुख्र्याैली सम्पत्तिले कार चढ्न सहज बनाएको देखिन्छ । त्यसैले त केही सिनेमाहरुमा मात्रै काम गरेका उनी दुईवटै महंगा कारहरु चढ्छन् । मर्सिडिजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ ।

प्रदीप खड्का

सिनेमा ‘प्रेम गीत २’ को सफलतापछि प्रदीप खड्काले निर्माता सन्तोष सेनबाट कार उपहार पाएका हुन् । सिनेमा सफल भएपछि उनले प्रदीपलाई सेयरको रुपमा कार उपहार दिएका हुन् । प्रदीपले पाएको हुन्डाइको क्रेटा कारको बजार मूल्य ४२ लाख छ । यतिबेला प्रदीप रातो रंगको क्रेटा कारमा हुँइकिन्छन् ।

पल शाह

यस्तै महंगो कारमा हिँड्ने अर्का कलाकार हुन् पल शाह । उनले आफ्नै कमाईले कार किने, जुन उनको जीवनको एउटा खुशीको पल थियो । पल शाह निशानको सन्नी कार चढ्छन् । यसको बजार मूल्य लगभग ४० लाख पर्न आउँछ ।

आकाश श्रेष्ठ

पछिल्लो समय निकै राम्रो नाम कमाएका नायक हुन्, आकाश श्रेष्ठ । सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ बाट डेब्यु गरेका श्रेष्ठ अभिनित चलचित्रहरुमा ‘तिमीसँग’, ‘ड्रिम गर्ल’, ‘ब्ल्याक’, ‘रामकहानी’ आदि रहेका छन् । उनी अहिले सुपरहिट भैसकेका छन् । सिनेमा रामकहानीको सफलतापछि अभिनेता आकाश श्रेष्ठले ४६ लाखको कार किनेका छन् ।

प्रतिक्रिया दिनुहोस्