निर्माण पूरा भएको १३ महिनापछि मौसमी राडारको उद्घाटन



सुर्खेत : निर्माण सम्पन्न भएको १३ महिनापछि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ । सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरे ।

मन्त्री पुनले पूर्वसूचना प्रणालीले नागरिकको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने बताए । “मौसमअनुसार जोखिम पु¥याउन सक्ने क्षतिका बारेमा जानकारी लिन राडार अति उपयोगी छ, उनले भने, “यसबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने र यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप, बाढी, पहिरोलगायतका घटना न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।”

उनले राडारले दिने सूचना हरेक नागरिकसम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन दिए । मन्त्री पुनले भने, “पहिले आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो ।”

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक एवं जलवायु प्रकोप समुत्थान निर्माण आयोजना प्रमुख जगदीश्वर कर्माचार्यले पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि राडार उपर्युक्त मानिएको बताए । उनले हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकोमा राडारबाट वास्तविक सूचना पाउन सकिने बताए ।

विसं २०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडारको उद्घाटन हुन सकेको थिएन । यसअघि राडारबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेशन (सीईसी)ले सङ्कलन गर्दै आएको थियो । सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया शुरुआत भएको हो ।

राडार रातानाङला समुद्री सतहबाट दुई हजार २४४ मिटर उचाइमा अवस्थित छ । सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौँबाट सङ्कलन गरिनेछ । विभागका उपमहानिर्देशक कर्माचार्यले सङ्कलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्ने जानकारी दिए ।

राडार मौसमसम्बन्धी जानकारी दिने विद्युतीय प्रणाली हो । सुर्खेतमा जडान गरिएको राडारको क्षमता ४०० किलोमिटर वरपरसम्मको मौसमको बारेमा जानकारी दिन सक्नेछ ।

जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणालीमध्येको सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार विभिन्न चरणमा जडान गर्नेगरी गरिएको प्रस्तावअनुसार पहिलो चरणको सुर्खेतको रातानाङ्लामा जडान भइसकेको छ । दोस्रो चरण पाल्पाको रिब्दीकोट र तेस्रो चरणमा उदयपुरको उदयपुरगढीमा राडार जडान गर्ने तयारी छ ।

विश्व बैंकको सहयोगमा रु १७ करोड लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडारले कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४०० किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ ।

प्रतिक्रिया दिनुहोस्