उपाधि गुमेपछि आँसु…



काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको महिला भलिबलमा नेपाल उपविजेतामा समेटिएपछि नेपाली खेलाडीका आँसु थामिएनन् ।

महिला भलिबलको उपाधि भारतले उचाल्दा नेपाली खेलाडी कभर्ड हलमै रोएका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा दुई सेट जितेको नेपाललाई पछि पार्दै भारतले उपाधि उचालेको हो।

पहिलो सेटमा भारतसँग १९–२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको थियो। यद्यपी चौथो र पाँचौ सेटमा लगातार भारतले जित दर्ता गर्दा नेपाल ऐतिहासिक सफलताबाट चुकेको हो ।

दोस्रो सेटमा भारतमाथि २५–२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५–२१ को जित दर्ता निकाल्दै उपाधि नजिक पुगेको थियो । तर चौथो सेटमा भारतले २५–२० ले जित दर्ता गर्यो भने पाँचौ सेटमा १५–६ ले जित निकाल्दै उपाधि उचाल्यो ।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको थियो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो।

भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमासमेत नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्