महतोको बाहिर निक्लिने सपना पूरा



सप्तरी : जिल्लाको राजविराज नगरपालिका–१ का विन्देश्वर महतोको घरबाट बाहिर निक्लिने सपना मङ्गलबार साकार भएको छ । पक्षघातका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि घरमै थन्किनुभएका ६५ वर्षीय महतोको बाहिर घुम्ने सपना ह्विल चियर पाएपछि पूरा भएको हो ।

‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ मूल नारासहित २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा महतोले ह्विल चियर पाएका हुन् । अपाङ्गता भई कष्टकर जीवन बिताइरहेकाहरूको हकअधिकारका लागि काम गरिरहेको समावेशी अपाङ्ग सङ्घ, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ र बहिरा सङ्घले महतोलाई ह्विल चियर वितरण गरेको हो ।

ह्विल चियर पाएपछि निकै खुशी देखिएका महतोले भने, “बाहिरी संसार हेर्ने आँखा भए पनि हिँडडुल गर्न नसक्ने भएपछि घरकै कुनामा थन्किएको थिएँ, ह्विल चियर पाएपछि बाहिर निक्लने सपना पूरा हुने भएको छ ।”

सप्तरीको राजविराजसहित तिरहुत र रुपनी गाउँपालिकामा करिब २०० अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सङ्घसंस्थाले सामग्री वितरण गरेको छ । राजविराजमा नौजना दृष्टिविहीन बालबालिकालाई झोलासहितको शैक्षिक सामग्री वितरण गरिएको छ ।

सगरमाथा अपाङ्ग कल्याण सङ्घको आयोजना एवं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा राजविराजमा आयोजित कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ ।

त्यसअघि राजविराजस्थित महादेव मन्दिरबाट शुरु भएको प्रभातफेरीले राजविराज नगर परिक्रमा ग¥यो । सगरमाथा अपाङ्ग कल्याण सङ्घ, राजविराजको प्राङ्गणमा पुगेर सभामा परिणत भएको कार्यक्रममा इञ्जिनीयर सूर्यनारायण यादवले विभेद र सामाजिक अवरोधले क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा परिवर्तन ल्याउन सबै अग्रसर हुनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्क चलाएर आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बन्नुपर्ने बताए । भगतका अनुसार तिरहुत गाउँपालिकामा ८१ अपाङ्ता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेको राष्ट्रसङ्घीय विभिन्न प्रावधानकै सन्दर्भमा डिसेम्बर ३ लाई नेपालले महत्वका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्