यसरी भयो भावी प्रधानसेनापतिको जागिर चट्



काठमाडौं : भावी प्रधानसेनापतिको दाबेदार मानिएका अनोजबहादुर बस्नेतको बढुवा रोकपछि उनको सेनापति बन्ने ढोका बन्द भएको छ । उनको नक्कली प्रमाणपत्र भएका कारण बढुवामा पर्न सफल नभएको जंगीअड्डामा चर्चा भएको छ । उनी भावी प्रधानसेनापतिको दाबेदार रहेका थिए । वर्तमान सेनापति थापाको पालामा पनि प्रमाणपत्रकै कारण रथी बढुवा हुनुपर्ने बस्नेतको बढुवा भएन । उपरथीबाटै बिदा हुनुपर्ने अवस्था आएको छ ।

यस्तै आफूलाई बढुवा नगरेपछि सेनाका एक अधिकृतले राजीनामा दिएका छन् । यसरी राजीनामा दिएका अधिकृत हुन् – पूर्व प्रधानसेनापतिका छोरा सुभांगद कटुवाल । भारतीय शैक्षिक प्रमाणपत्र पेश गरी सैनिक सेवामा प्रवेश गरेका कटवालले प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)बाट केही दिनअघि राजीनामा दिएका हुन् । उनलाई महासेनानीमा बढुवा गर्नका लागि म्यादथप गर्ने प्रस्ताव रक्षा मन्त्रालयमा लानुपर्ने हुन्थ्यो तर रक्षा मन्त्रालयमा लाँदा सुभांगदको प्रमाणपत्रको कुरा उजागर हुने भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले राजीनामा नै उत्तम विकल्प हुने सुझाव दिएपछि उनले राजीनामा दिएको बुझिन्छ ।

सेनापति थापाले सुभांगदको ३ वर्ष म्यादथपको लागि रक्षा मन्त्रालयमा सिफारिस गर्नसक्थे । तर उनको प्रमाणपत्रमा विवाद आएमा सेनाको छविमा पनि आँच पुग्ने भएकाले पिता रुक्मांगदको सल्लाह अनुसार राजीनामा दिएर बाहिरिएका हुन् ।

सेनामा यसअघि ईश्वरी पौडेल रक्षा सचिव हुँदा धेरै नक्कली प्रमाणपत्र पेश गरी कर्णेल जर्नेल भएकाहरुले राजीनामा दिएर बाहिरिएका थिए । सेनापति थापाले सेनामा सुधारका लागि भ्रष्टाचार नियन्त्रणदेखि नक्कली प्रमाणपत्र पेश गर्नेहरुको सवालमा कठोर नीति अंगालेका छन् । यसकारण पनि सेनाका अधिकृतहरु राजीनामा दिँदै बाहिरने क्रम बढेको बताईन्छ ।

सेनाभित्र प्रमाणपत्र काण्ड बेलाबेलामा आउने गरेको विषय हो । अहिले नेपाली सेनामा हाल कार्यरत प्राविधिक पाइलट कर्णेल रामसुन्दर बोहोराको प्रमाणपत्रको बारेमा पनि प्रश्न उठाइएको छ । उनी २०५१ सालमा प्राइभेट परीक्षा दिएर दुई वर्षे स्नातक परीक्षा पास गरेको प्रोभिजनल मार्कसिटका आधारमा बढुवा भएका थिए । तर, उनको ट्रान्सक्रिप्ट नै थिएन ।

उनले मार्कसिटका आधारमा प्रोभिजनल मार्कसिट निकालेका थिए । जुन अस्थायी प्रयोजनका लागि मात्रै काम चलाउ हुन्छ । २०५१ सालमा प्राइभेट फर्म भरेर परीक्षामा सम्मिलित भएका बोहोरा प्रथम वर्षको अनिवार्य अंग्रेजी विषयमा उपस्थित थिएनन् ।

तर, उनको रोलनम्बर ३९५८६४ मा अर्का विद्यार्थी रामहरि न्यौपानेले हाजिर गरेकोले परीक्षाफल प्रकाशित हुँदा अनिवार्य अंग्रेजीको प्राप्तांक ४६ सहित हाजिरै नभएका विद्यार्थी रामसुन्दर बोहोराका नाममा पास भएको मार्कसिट आयो । उनी भूलबस आएको मार्कसिट लिन जाँदा कार्यालयले फिर्ता माग्ने डरले २२ वर्षसम्म लिन गएनन् । अहिले बढुवाका बेला प्रतिस्पर्धीले उजुरी गरेपछि उनी गए । तर बोहराको मार्कसि न्यौपानेले लगिसकेका कारण उनले पाउन सकेनन् । यसले उनलाई थप तनाव भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्