कक्षा ८ सम्म मातृभाषा पढाउन प्रस्ताव



काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगले कक्षा ८ सम्म मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा प्रणाली लागू गर्न प्रस्ताव गरेको छ । आयोगले मातृभाषामा व्यवहार नगरिँदा भर्ना भएका हजारौँ बालबालिकाले बिचैमा पढाइ छाड्नुपरेको औँल्याउँदै त्यस्तो प्रस्ताव अघि सारेको हो । 

साना कक्षामा बालबालिकालाई पठनपाठन गर्दा मातृभाषाकै माध्यमबाट बुझाउनुपर्ने आयोगको सुझाव छ । मातृभाषमा आधारित शिक्षा कार्यान्वयनका निम्ति विद्यालयलाई तीन प्रकारमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । 

विद्यालय सेवा क्षेत्रमा एकल मातृभाषी समुदायका विद्यार्थी, दुई भाषिक समुदायका विद्यार्थी र दुईभन्दा बढी भाषा प्रयोग हुने समुदायका विद्यार्थी लक्षित छ । अभिभावकहरू भने आफ्ना छोराछोरीलाई अंग्रेजी शिक्षा पढाउनेतर्फ आकर्षित भइरहेका छन् ।

आयोगले शैक्षिक गुणस्तरका नाममा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा बालबालिकाले घोकेका भरमा अंक पाए पनि सिकाइको आधार खस्किएको औँल्याएको छ । ‘मातृभाषालाई माध्यम भाषका रूपमा छनोट गरी कार्यान्वयनमा लैजानु, द्वैभाषिक र बहुभाषिक शिक्षणका लागि शिक्षक तयार गर्नु चुनौतीपूर्ण छ’, प्रतिवेदनमा छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्