महरालाई छुटाउन रोशनीले उच्च अदालतमा दिईन यस्तो निवेदन



काठमाडौं : आफूलाई यौन दूराचार गरेको भन्दै तात्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी दिएकी रोशनी शाही हाल पुर्पक्षका लागि सदरखोर डिल्लीबजारमा थुनामा रहेका उनै महरालाई जेलबाट छुटाउन उच्च अदालत पाटनमा पुगेकी छिन् ।

जिल्ला अदालत काठमाडौंले दिएको आदेश बेठीक भएको उल्लेख गर्दै शाहीले उच्च अदालत पाटनमा दिएको पहिलो निवेदन दरपीठ भएपछि अर्को निवेदन दर्ता गराएकी छिन् ।

जिल्ला अदालत काठमाडौंले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी आदेश दिएको थियो । यो आदेश बेठीक भएकाले आदेश खारेजीको माग गर्दै शाही उच्च अदालत पुगेकी हुन् । तर रोशनीको निवेदन बेरीतको भएको भन्दै उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले दरपीठ गरेका थिए ।

निवेदन दर्ता हुनुको सट्टा दरपीठ भएपछि शाहीले सिधै न्यायाधीशलाई सम्बोधन गरेर अर्काे निवेदन दिएकी थिइन् । उक्त निवेदनमा दरपीठको निर्णय बेठीक भएको भन्दै रोशनीले न्यायाधीशसमक्ष निवेदन दिएकी हुन् । उक्त पछिल्लो निवेदन भने उच्च अदालत पाटनमा दर्ता भएको छ ।

यो निवेदनलाई लिएर उच्च अदालत पाटनले शाहीको पक्षमा निर्णय गरेपछि मात्र उनको निवेदन अनुसारको न्यायिक प्रक्रियामा अगाडी बढ्ने छ । उनले महरा पक्राउ परेको बेला पनि विज्ञप्ति निकाल्दै महरा निर्दोष रहेको बताएकी थिइन् । प्रहरीमा निवेदन दिदा उनले प्रहरी करकापमा निवदेन दिएको भन्दै आफ्नो फेसबुकमार्फत विज्ञप्ति निकालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्