ट्रम्पविरुद्ध महाभियोगका लागि संसदीय समितिको प्रतिवेदन तयार



काठमाडौं : राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रमाण जुटाइरहेको अनुसन्धान समितिले उनलाई महाअभियोग लगाउन सकिने प्रशस्त प्रमाणहरु जुटाइसकिएको बताएको छ । यी प्रमाणका आधारमा उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन मिल्ने तर्क उक्त समितिको रहेको छ ।

एक सार्वभौम राष्ट्रका प्रमुखले अर्को सार्वभौम राष्ट्रविरुद्ध पदको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत फाइदाका लागि जे पनि गर्न नमिल्ने उक्त समितिको निष्कर्ष रहेको छ । ट्रम्पले आफ्ना संभावित प्रतिद्वन्द्वी जोए बाइडनलाई प्रतिस्पर्धाका लागि फिल्डमा आउन नदिने गरी युक्रेनमाथि जुन दबाब दिएका थिए, त्यो अक्षम्य रहेको पनि बताइएको छ ।

संभावित प्रतिस्पर्धी जोए बाइडनका छोरा हन्टर बाइडन युक्रेनको उर्जाकम्पनीमा काम गर्दा उनीमाथि केही आर्थिक अनियमितता भएको कुरालाई खोजबिन गर्न ट्रम्पले युक्रेनलाई दबाब दिएका थिए । यसको कारण थियो, छोराले गरेको अनियमिततालाई लिएर जोए बाइडनमाथि आक्रमणको मसला तयार पार्नु ।

यो कुरालाई महाभियोगका लागि तयार पारिएको अनुसन्धान प्रतिवेदनमा संसद्को तल्लो सदनको अनुसन्धानसम्बन्धी विषय हेर्ने समितिले प्राथमिकताका साथ सार्वजनिक गरेको छ ।

यसलाई राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको ठहरसहित महाभियोगको आधार बनाइएको छ । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पु‍र्याई आगामी चुनावमा आफ्नो स्वार्थका लागि युक्रेनलाई तान्न खोजेको बताइएको छ । यस कुरालाई युक्रेनी अधिकारीहरुले पनि स्वीकार गरिसकेका छन् ।

अनुसन्धान समितिका अध्यक्ष एडम शिफले त ट्रम्पले आफूलाई कानुनभन्दा पनि माथि राख्न खोजेको र शक्तिको व्यापक दुरुपयोग गरिरहेको बताएका छन् । राष्ट्रपति ट्रम्प भने यी सबै आरोपहरु रानीति प्रेरित रहेको बताइरहेका छन् । ह्वाइट हाउसले यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनी तीतो पोखेको छ ।

प्रतिक्रिया दिनुहोस्