प्रधानन्यायाधीश मिश्रको भोलि बिदाई, पर्सी नयाँको  शपथ



काठमाडौं:  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण भोलिबाट अवकाश लिँदै छन् । गत २५ साउनमा प्रधानन्यायाधीश बनेका मिश्रले मंगलबारबाट औपचारिक रूपमै अवकाश लिन लागेका हुन् । उनी ६५ वर्षे उमेर हदका कारण पूर्ण कार्यकाल पूरा नहुँदै बिदा हुन लागेका हुन् । 

 

प्रधानन्यायाधीशको अवधि ६ वर्षको हुने संवैधानिक प्रावधान छ । तर, ६५ वर्षे उमेर हदका कारण मिश्रले अवकाश पाउन लागेका हुन् । प्रधानन्यायाधीश मिश्रले सोमबार र मंगलबार आफैं पेसी तोक्नेछन् । बुधबार भने नयाँ प्रधानन्यायाधीशबाट पेसी तोकिनेछ । सर्वोच्चले बुधबार बिहानसम्म नयाँ प्रधानन्यायाधीशको शपथ हुने र सोही दिनदेखि नयाँ प्रधानन्यायाधीशले पेसी तोक्न सुरु हुने आँकलन गरेको छ ।

 

मिश्र मंगलबारबाट प्रधानन्यायाधीशबाट बिदाइ हुने भए पनि नयाँ प्रधानन्यायाधीशको टुंगो लाग्न अझै बाँकी छ । संवैधानिक न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो । नयाँ प्रधानन्यायाधीश अनुमोदन गर्न आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठक मंगलबारसम्म स्थगित भएको छ । बैठक जारी रहेको बेला कर्मचारीले ४ बजेपछि काम नगर्ने जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो ।

 

परिषद्बाट सिफारिस भएका जबरा भावी प्रधानन्यायाधीशमा अनुमोदन हुने या नहुने भन्ने छिनोफानो मंगलबार मात्र हुने भएको छ । सुनुवाइ समितिमा जबराविरुद्ध नौ वटा उजुरी परेका छन् । सुनुवाइ समितिको आइतबार बैठकमा पनि जबरामाथि दर्जनौं प्रश्न उठेका छन् । ती प्रश्नको चित्तबुझ्दो जवाफ जबराले दिन बाँकी छ । मंगलबार बस्ने सुनुवाइ समितिको बैठकबाट जबरा अनुमोदन भएको अवस्थामा उनी भावी प्रधानन्यायाधीश हुनेछन् ।

 

अनुमोदनसँगै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनेछिन् ।संसदीय सुनुवाइ समितिले जबराको नाम प्रधानन्यायाधीशका रूपमा अनुमोदन नगरेको अवस्थामा भने आठ महिना सर्वोच्च कामुको भरमा चल्ने देखिएको छ । संविधानअनुसार सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीश मात्र प्रधानन्यायाधीशमा योग्य हुन्छन् ।

 

सर्वोच्चमा हाल दीपकराज जोशी र जबराको मात्र यो योग्यता पुग्छ । जोशी यसअघि नै अस्वीकृत भइसकेको र जबरालाई पनि सुनुवाइ समितिले अस्वीकार गरेमा संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बन्न योग्य व्यक्ति सर्वोच्चमा नहुँदा कामुको भरमा सर्वोच्च चल्ने स्थिति सिर्जना हुने भएको हो ।

 

जबराभन्दा रोलक्रममा तल रहेका सबै न्यायाधीश १७ साउन २०७३ मा नियुक्त भएका हुन् । उनीहरूको प्रधानन्यायाधीश बन्ने योग्यता १६ साउन २०७६ मा मात्र पुग्ने देखिएको छ । सो समय आउन अझै आठ महिना बाँकी रहेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्