कर्मचारी समायोजन,५२ हजार कर्मचारीको विवरण तयार



काठमाडौं:  सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ । राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेको हो । निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो । बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यही विवरणका आधारमा कर्मचारीको समायोजन गर्नेछ । मन्त्रालयले गत बुधबारै सार्वजनिक सूचनामार्फत कर्मचारीलाई समायोजन फाराम भर्न आह्वान गरिसकेको छ । २१ दिनको म्याद दिएको सरकारले त्यसलगत्तै कर्मचारीको समायोजन थाल्नेछ । सरकारको सो सूचनाअनुसार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि छनोट गर्नुपर्नेछ ।

 

समायोजन अध्यादेशमा कर्मचारी समायोजन गर्दा अपनाउनुपर्ने प्रमुख आधारका रूपमा कर्मचारी कार्यरत पदको ज्येष्ठता, सो पदमुनिको पदको ज्येष्ठता र उमेरको ज्येष्ठतालाई राखिएको छ । समायोजन अध्यादेशमा भएको समायोजनका आधारका लागि सोहीअनुसार कर्मचारीको विवरण अद्यावधिक गरिएको किताबखानाका महानिर्देशक जयराज आचार्यले जानकारी दिए । ‘हामीले तयार पारेको विवरणका आधारमा नै सरकारले कर्मचारीको समायोजन गर्नेछ,’ महानिर्देशक आचार्यले राजधानीसँग भने ।

 

कर्मचारीले समायोजनका लागि फाराम भर्नासाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको कर्मचारीको अद्यावधिक विवरण अध्ययन गर्ने गरी सफ्टवेयर विकास गरेको छ । सो सफ्टवेयरमार्फत कर्मचारीको विवरण हेर्दै सोहीअनुसार कर्मचारीको धमाधम समायोजन थालिने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । सोअनुसार विभिन्न पदमा रहेर काम गरेका सबैभन्दा ज्येष्ठ कर्मचारीले रोजेको स्थानमा समायोजनको अवसर पाउनेछन् । एउटै पदमा समान ज्येष्ठता भएमा त्यसभन्दा अघि कार्य गरेको पदको ज्येष्ठता हेरिनेछ । यसैगरी, उमेरमा ज्येष्ठ रहेकालाई पनि समायोजनका क्रममा रोजेको स्थान दिइनेछ । समायोजन फाराम नभर्नेहरूलाई भने सरकारले आफैंले जहाँसुकै पनि समायोजन गर्न सक्ने सचिव थपलियाले बताए ।

 

राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गर्नुका साथै कर्मचारीका लागि ढेड लाख बढी सूचना जारी गरिसकेको जनाएको छ । किताबखानाका अनुसार कर्मचारी विवरण अद्यावधिक गर्दा अहिले कर्मचारी कार्यरत रहेको पद र कार्यालय, अहिलेको पदको नियुक्ति मिति, अघिल्लो पदको नियुक्ति मिति, सुरुको नियुक्ति मिति, स्थायी ठेगाना र वैवाहिक स्थितिलाई हेरी सोहीअनुसार गरिएको छ ।

 

विवरणमा त्रुटि भएको भन्दै असन्तुष्टि

केही कर्मचारीले भने किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गर्दा आफ्नो व्यक्तिगत विवरणमा त्रुटि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । किताबखानाले कर्मचारी विवरण अद्यावधिक गर्दा हाल कार्यरत रहेको पदको नियुक्ति मिति गलत पारिदिएको र दुई तीन वर्षसम्मको अवधि घटाइदिएको बताएका छन् । समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता हेरिने तर किताबखानाले त्यसमा नै त्रुटि गरिदिँदा आफूहरू अन्यायमा परेको कर्मचारीले बताएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्