सडक महोत्सवमा ठगिँदै पर्यटक



पोखरा : पोखराको लेकसाइडमा रहेको हल्क होटेलले विगतमा एउटा कोठाको शुल्क दुई हजार रुपैयाँ लिँदै आएको थियो । होटेलले अहिले कोठाको शुल्क बढाएर ५५ सय रुपैयाँ पु(याएको छ । 

१५० देखि दुई सय रुपैयाँमा पाइने मःमको चार सय रुपैयाँ तोकिएको छ । ३०/३५ रुपैयाँ लिँदै आएको मिनिरल वाटरको ७० देखि ८० रुपैयाँ लिन थालिएको छ । 

लेकसाइडका अधिकांश होटेल व्यवसायीले कोठादेखि खानासम्म सबैको मूल्य बढाएका छन् । यसरी मूल्य बढ्नुको कारण हो, अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको २०औँ सडक महोत्सव । महोत्सव १७ पुससम्म चल्नेछ ।

कतै देखे भाइबरमा  फोटो हाल्दिनुस्

महोत्सवमा खानाको मूल्य बढी लिएको विषयमा आयोजक रेवान पोखराका महासचिव गणेश थापासँग जिज्ञासा राख्दा उनले त्यति चासै देखाएनन् । ‘कतै देखे भाइभरमा फोटो हाल्दिनुस्’ भन्ने जवाफ दिएर उनी तर्किए । 

महोत्सवको अन्तिम तयारीबारे जानकारी दिने उद्देश्यले ११ पुसमा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले महोत्सवको अवसरमा होटेलको कोठामा ५० प्रतिशतसम्म मात्र मूल्यवृद्धि हुने बताएका थिए ।

पटक–पटक आग्रह गर्दा पनि असुली गर्न छाडिएन

क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार शनिबार पोखराका होटेलहरूको अकुपेन्सी करिब ४० प्रतिशतको हाराहारीमा थियो । आइतबार यो दर बढेर ६५ प्रतिशत पुगेको छ । 

आफूहरूले लिँदै आएको मूल्य नबढाउन पटक–पटक आग्रह गर्दासमेत शुल्क वृद्धि भएको गुनासो आउने गरेको उनको भनाइ छ । हल्क होटेलका फ्रन्ट डेस्क रिसेप्सनिस्ट सुनील दाहालले नयाँ वर्षका कारण कोठाको शुल्क वृद्धि भएको जानकारी दिए । 

यसअघि आयोजकले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटकलाई १५ प्रतिशतसम्म छुट दिने बताएका थिए । तर, पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकले १५ प्रतिशत छुट पाउनुको साटो लिँदै आएको मूल्यमा तीन गुणासम्म तिर्नुपर्दासमेत आयोजक पक्षले कुनै चासो देखाएको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्